
चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरस विरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ ।
बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडालाई नेपालका लागि चीनका राजदूत होउ यान्छीले भेरोसेल खोप प्रदान गरेका हुन् ।
मन्त्री खतिवडाले खोप प्रदान गरेर नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्धमा एउटा इँटा थप भएको बताए । ‘हामीले चीनबाट पाउँदै आएको सहायताको निरन्तरता अन्तर्गत अहिलेको परिस्थितिमा १६ लाख मात्रा खोप अनुदान स्वरुप प्राप्त गरेका छौैं,’ उनले भने, ‘यस वर्षभित्र सबै नेपालीलाई कोभिड–१९ विरुद्धको खोप लगाई सक्ने लक्ष्यअनुरूप नेपालले कार्य गरिरहँदा चीन सरकारबाट प्राप्त सहयोग तथा सहजीकरण अत्यन्तै सहयोग हुनेछ ।’
मन्त्री खतिवडाले कोभिड–१९ को शुरूआती अवस्थादेखि चीन सरकारले स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएकोमा धन्यवाद समेत व्यक्त गरे ।
नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीनले उपलब्ध गराएको खोपले नेपालको खोप अभियानमा सहयोग पुग्ने बताए । उनले महामारीको विरुद्धमा एक देशले अर्काे देशलाई एकआपसमा रेखदेख र सहयोगले २ देशबीच थप मित्रता अझ प्रगाढ हुने बताए ।
उनले चिनियाँ सेनाले नेपाली सेनालाई ३ लाख मात्रा खोप उपलब्ध गराउने समेत जानकारी दिए । ३ लाख मात्रा खोप शुक्रवार नेपाल आइपुग्नेछ ।
नेपाललाई थप ३० लाख मात्रा खोप अनुदान उपलब्ध गराउनेबारे पनि छलफल भइरहेको उनको भनाइ रहेको छ ।
चीनबाट हालसम्म १ करोड ५९ लाख मात्र खोप नेपाल आइसकेको र त्यसमध्ये ३४ लाख मात्रा भेरोसेल खोप अनुदानमा प्राप्त भएको स्वास्थ्य सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।
एसियाली विकास बैंकको लगानीमा खरिद गरिएको ५९ लाख मात्रामध्ये १० लाख २० हजार मात्रा नेपाल आइसकेको र बाँकी मात्रा आउने प्रक्रियामा रहेको उनले बताए ।