
घरघरमा तिहारको तामझाम सुरु भएको छ तर काभ्रेपलाञ्चोकको पाँचखाल, खरेलथोककी देवी सुनारलाई भने तिहार आयो कि झन् पीडा थपिन्छ। आठ दाजुभाइकी एक्ली चेली, घरपरिवारकी जेठी छोरी मैना सुनारको पार्थिव शरीर शिक्षण अस्पतालको शवगृहमा करिब १८ वर्षदेखि राखिएको छ।
तत्कालीन माओवादी द्वन्द्वको बेला १४ वर्षकी कलिलो उमेरमा मैनालाई तत्कालीन शाही नेपाली सेनाले सुतिरहेको ओछ्यानबाटै उठाएर लगेको चर्चा चलेको पनि वर्षौं भयो। आफ्ना र देवरहरूको समेत गरी घरमा आठ छोरा छन् तर छोरी छैनन्। तिहार, तीजलगायतका पर्वमा देवी सुनारलाई छोरी मैनाको यादले असाध्यै सताउँछ। यत्तिका समय बित्दा पनि उनले न्याय पाएकी छैनन् ।
राजधानीमा बुधबार आयोजित कार्यक्रममा सहभागी देवी सुनारले तिहारमा छोरीको यादले झनै पिरोल्ने अनुभव सुनाइन् । उनले सङ्क्रमणकालीन न्यायसम्बन्धी प्रावधानको कार्यान्वयन वा अनुभूति भएपछि मात्र आफ्नी छोरी मैनाको दाहसंस्कार गर्ने अडान राख्दै आएकी छन् । गोरखापत्रमा खबर छ।