
नेकपा एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतको न्यायाधीश नै विभाजन भई आन्दोलनको अवस्थामा पुग्नु भनेको लोकतन्त्र कमजोर बनाउने खेल भएको बताएका छन् ।
प्रेस चौतारी नेपाल दाङ शाखाद्वारा बिहीवार आयोजित पत्रकार सम्मेलनमा उनले कानून पढेका बुझेका, जानेकाले न्यायालयलाई बन्दी बनाउन नहुनेमा जोड दिए ।
नेता पोखरेलले जनताको आवश्यकता, दीर्घकालीन विकास निर्माण र पूर्वाधारका क्षेत्रमा केपी ओली नेतृत्वको सरकारले गरेको ऐतिहासिक प्रगतिमा रोक लगाउने कामले जनतामा निराशा छाएको बताउँदै ओली नेतृत्वको सरकारले ल्याएको १ हजार ४०० सडक आयोजना खारेज गर्दा त्यसको असर समग्र अर्थतन्त्रमा परेको आरोप लगाए ।
उनले एमालेले जनताको जनमतलाई उच्च सम्मान गरेर अघि बढेको हुँदा सरकार बाहिर रहेपनि जनताकै साथमा रहेको उल्लेख गर्दै अहिले एमाले दशौं महाधिवेशनमा केन्द्रित भएको जानकारी दिए ।
उनले भने, ‘एमाले एकतावद्ध छ भन्ने कुराको सन्देश हालै सम्पन्न देशभर वडा र पालिका अधिवेशन एकै पटक गरेर उदाहरण दिएको छ । एमालेले देखाएको व्यवस्थापन अरु दलले देखाउन सक्छन् कि सक्दैनन् भन्ने विषय चुनौतीपूर्ण छ ।’
विधान अधिवेशन, नीति निर्माणसँगै नेतृत्व निर्माणका लागि आशन्न दशौं महाधिवेशनको प्रक्रिया अघि बढेको हुँदा नेकपा एमाले थप बलियो, संगठित बनेर अघि बढ्ने संकल्प गरेको उनले बताए ।
प्रेस चौतारीका जिल्ला उपाध्यक्ष ईन्द्र डिसीको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो ।