
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले अमेरिकी अनुदानमा आधारित एमसीसी सम्झौताका विषयमा सत्य बोल्न कोही पनि डराउन नहुने बताएका छन् ।
बिर्तामोडस्थित कांग्रेसको पार्टी कार्यालयमा बिहीवार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले एमसीसीका विषयमा कांग्रेसका नेता र कार्यकर्ता पनि बोल्न डराउने गरेको उल्लेख गरे ।
भारत, चीन, कोरिया, जापान, युरोपियन युनियन लगायतबाट नेपाललाई बर्सेनि अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै सहमहामन्त्री महतले अमेरिकाले दिने सहयोगमा फरक मापदण्ड र नीति अख्तियार गर्न नहुने बताए ।
सबै मित्रराष्ट्रसँगको परराष्ट्र नीति समान हुनुपर्नेमा उनको जोड थियो ।
एमसीसीमार्फत अमेरिकाले दिने सहयोग ऋण नभएर अनुदान भएको उनले स्पष्ट पारे । विद्युतीय ट्रान्समिसन लाइन, सडक जस्ता महत्त्वपूर्ण पूर्वाधार निर्माणमा आउने सहयोग नेपालले स्वीकार गर्नुपर्ने नेता महतको धारणा थियो ।
विदेशी सेना आउने, विदेशको कानून लागू हुने, सार्वभौमसत्ता संकटमा पर्ने जस्ता गलत र हुँदै नभएका हल्ला चलाइएकाले एमसीसीबारे जनतालाई सत्य कुरा सुनाउन नेताहरुले आँट गर्नुपर्ने उनको भनाइ थियो ।
नेता महतले भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा जाँदा सीमा समस्या र तुइन समस्याको समाधानबारे खुलस्त रूपमा छलफल भएको जानकारी दिए । केपी ओली नेतृत्वको सरकारका पालामा भारतसँगका सम्झौताका विषयमा प्रस्ट कुरा र अडान राख्न नसकेको उनले आरोप लगाए । ओलीले सडक, मिडिया र जनतातिर फर्केर चर्को राष्ट्रवादी कुरा राखेर भ्रम छरेको डा. महतको भनाइ थियो ।
सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा उनले स्वतन्त्र न्याय क्षेत्र समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविक रूपमा निम्तिने बताए । ‘राज्यका सबै अंग स्वतन्त्र छन्, एउटाले आफ्नो समस्या समाधान गर्न सकेन र राज्य व्यवस्थामै अप्ठ्यारो अवस्था सिर्जना भएमा अर्को अंगको हस्तक्षेप अपरिहार्य हुन्छ,’ उनले भने ।