
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्तीका अवसरमा आज अनामनगरमा नागार्जुन साहित्यिक प्रतिष्ठानले काव्य गोष्ठीको आयोजना गरेको छ ।
महाकवि देवकोटाको व्यक्तित्व चर्चा, उहाँको ‘भिखारी’ शीर्षकको कविता वाचन र अन्य कविहरुका कविता वाचनसहित सम्पन्न गोष्ठीमा वरिष्ठ समालोचक प्रा डा बद्रीविशाल पोखरेलले महाकवि देवकोटालाई नयाँ पुस्ताले गहनरुपमा पढ्न र बुझ्न आवश्यक रहेको बताए । उनले तत्कालीन व्यवस्थाले उहाँलाई जनताका पक्षमा लागेका नाममा नेपाल प्रज्ञा प्रतिष्ठानबाट उपलब्ध हुनुपर्नै तलब सात महिनासम्म निकासा नभएका जस्ता पीडादायी अवस्था उजागर हुनुर्ने भनाइ राखे।
कार्यक्रममा शिवप्रसाद आचार्य, वैरागी जेठा, प्रकाश सिलवाल, चेतनाथ धमला, माधव निर्दाेष, यशोदा अधिकारी, शिवहरि पाण्डेलगायतले रचना प्रस्तुत गर्नुभएको थियो । केही स्रष्टाले भर्चुअलरुपमा रचना प्रस्तुत गरेका थिए । सोही अवसरमा आगामी मङ्सिरमा लोकतान्त्रिक साहित्यिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेको संस्था नागार्जुनको अधिवेशन तयारीका लागि संस्थापन अध्यक्ष जेठाका अध्यक्षतामा पाँच सदस्यीय समिति गठनको घोषणा गरिएको थियो ।