
प्रहरीले सोमवार (कात्तिक १५ गते) एकै दिन देशभरबाट ७४ जना जुवाडेलाई पक्राउ गर्यो । उनीहरूको साथबाट ११ लाख ७१ हजार ९१७ रुपैयाँ समेत बरामद भयो ।
पर्वतको जलजला गाउँपालिका– ३ माँझफाँट बस्ने कृष्ण बरुवालको घरमा तास खेलिरहेका ५० वर्षीय मोहन जिसीलगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८२ हजार ६ सय ९० रुपैयाँ र ताससहित पक्राउ गरेको थियो ।
नवलपरासी(पूर्व)को गैँडाकोट नगरपालिका– १ मिलन टोल बस्ने ओम ढकालको घरबाट तास खेलिरहेको ४९ वर्षीय भीमलाल शर्मालगायत ८ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको थियो ।
इलाका प्रहरी कार्यालय गैँडाकोटबाट खटिएको प्रहरीले जुवातास खेलिरहेका उनीहरूको साथबाट नगद १ लाख ८९ हजार ३ सय ८० रुपैयाँ र ३ बूक समेत बरामद गरेको थियो ।
कञ्चनपुरको भिमदत्त नगरपालिका– ४ गल्ली नम्बर ५ बस्ने ३५ वर्षीय बुद्धीसागर शर्माको बिलियड स्नुकर एण्ड पुल एसोसिएसनमा तास खेलिरहेको अवस्थामा शर्मालगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको थियो । उक्त एसोसिएसनमा जुवातास खेलिरहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले नगद ५५ हजार ७ सय ११ रुपैयाँ र १ बूक ताससहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
सोही दिन दाङको घोराही उपमहानगरपालिका– १४ रझेना बस्ने २५ वर्षीय यज्ञ खड्काको घरमा कौडा खेलिरहेको अवस्थामा रोल्पा रून्टीगढी गाउँपालिका बस्ने ४३ वर्षीय रूपलाल विक लगायत २० जनालाई राति प्रहरीले पक्राउ गरेको छ । कौडा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरूलाई नगद ४ लाख ६४ हजार ८ सय ८१ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको थियो ।
सोही दिन बर्दियाको गुलरिया नगरपालिका–७ गुलरिया गाउँ बस्ने रमेश यादवको घरमा तास खेलिरहेका ४३ वर्षीय रमेश यादवलगायत ९ जनालाई प्रहरीले पक्राउ गर्यो ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ पुगेको प्रहरीले नगद १ लाख ९८ हजार ५ सय ५ रुपैयाँ र १ बूक तास समेत बरामद गरेको थियो ।
कैलालीको बर्दगोरिया गाउँपालिका– ६ पृथ्वीपुरस्थित कच्ची घरमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका ५ बस्ने ३६ वर्षीय सुनिल चौधरीलगायत १८ जनालाई आइतवार राति प्रहरीले पक्राउ गरेको थियो ।
उक्त घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ उनीहरूलाई नगद १ लाख ८० हजार ७ सय ५० रुपैयाँ र २ गड्डी ताससहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले जनाएको छ ।
दशैँ तिहारको समयमा प्रहरीले जुवाको खालमा छापा मारेर दैनिक १५/२० जना जुवाडे पक्राउ गरिरहेको छ भने लाखौं पैसा जुवा खालबाट बरामद पनि गरिरहेको छ ।
प्रहरीले पछिल्लो ४५ दिनमा मात्रै ८ सय ७६ जना जुवाडेलाई पक्राउ गरेको छ भने उनीहरूको साथबाट १ करोड ४८ लाख रुपैयाँ बरामद गरेको प्रहरी प्रधान कार्यालयको तथ्याङ्कले देखाउँछ ।
आज २०७५/७६ यता मात्र प्रहरीले जुवाको खालबाट १९ करोड ९८ लाख ७२ हजार ५९६ रूपैयाँ बरामद गरेको छ ।
जुवाको खालबाट बरामद भएको पैसा सबै राजस्वमा जाने प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त कुँवरले बताए ।
‘जुवाको खालबाट बरामद भएको पैसा प्रमाणका लागि अदालतमा पेस गर्नुपर्ने हुन्छ । अदालती प्रक्रिया सकिएपछि त्यो पैसा सरकारी कोषमा जान्छ,’ प्रवक्ता कुँवरले लोकान्तरसँग भने ।