
दिपावलीको अवसरमा जुवा खेलिरहेको अवस्थामा नगदसहित १७ जनालाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।
बेंसीशहर नगरपालिका–३ बसौलागाउँमा शुक्रवार कौडा खेल्दै गरेको अवस्थामा १ लाख ५६ हजार ५४० रुपैयाँसहित १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
उनका अनुसार प्रहरी नायब उपरीक्षक कृष्णबहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले जुवाडेलाई कुखुराको फार्मबाट पक्राउ गरेको हो । कौडाका १६ वटा गोटी समेत बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध मुलुकी अपराध संहिता जुवाअन्तर्गत मुद्दा चलाइने तयारी भए पनि हालसम्म मुद्दा भने दर्ता भई नसकेको र अनुसन्धानकै क्रममा रहेको उनको भनाइ छ ।
उनका अनुसार उनीहरूलाई केही दिन प्रहरी हिरासतमै राखेर अनुसन्धान गर्ने र भाइटीका समेत प्रहरी चौकीमै लगाउने भएका छन् ।
पक्राउ परेकाहरूको नाम भने प्रहरीले गोप्य राखेको छ ।