
चाडपर्वमा हुनसक्ने कालोबजारी, मिसावट, ठगी नियन्त्रणका लागि गरिने बजार अनुगमन बैतडीमा हुन सकेको छैन ।
बजार अनुगमन नहुँदा तिहारका बेला बजारका अधिकांश सामानमा उपभोक्ता ठगिएका छन् ।
बजारमा म्याद नाघेका, लेबल नभएका, बिग्रेका, सडेगलेका सामान खुलेआम बिक्री गरेर उपभोक्ता ठगी भइरहेका छन् । तिहारमा सामान बढी खपत हुने हुँदा कमसल, म्याद नाघेका सामान पनि बढी बिक्री हुने गरेका छन् ।
पछिल्लो समय बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढ्न थालेको छ । लागत मूल्य नै महंगो भएर आएकाले मूल्य बढ्न गएको व्यवसायीको भनाइ छ । जिल्ला प्रशासनको नेतृत्वमा संयुक्त बजार अनुगमन समितिले यसअघि दशैंमा अनुगमन गरे पनि तिहारमा भने गर्न नसकेको हो ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे गएको १ महिनादेखि जिल्ला बाहिर रहेका र अन्य सरोकारवाला निकाय पनि तिहारभन्दा अगाडि नै बिदामा रहेकाले अनुगमन हुन नसकेको निमित्त प्रमुख जिल्ला अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
उनले भने, ‘प्रजिअ बाहिर हुनुहुन्छ, म एक्लै बजार अनुगमनमा जाने कि, कार्यालयमा बस्ने, हामी त कुनै अर्को कर्मचारी पनि पठाउँथ्यौं तर अन्य सरोकारवाला कार्यालयका कर्मचारी पनि बिदामा रहेकाले तिहारमा अनुगमन गर्न सकिएन ।’