
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा ५ दलीय गठबन्धन समन्वय समितिका संयोजक रामचन्द्र पौडेलले समन्वय समितिले सरकारको काममा कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् ।
मंगलवार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै वरिष्ठ नेता पौडेलले सरकार जनता र संसदप्रति उत्तरादायी निर्वाचित संस्था भएको उल्लेख गर्दै ५ दलीय गठबन्धन समन्वय समितिले सरकारको कुनै पनि काममा हस्तक्षेप नगर्ने स्पष्ट पारे ।
वर्तमान राजनीतिक व्यवस्थालाई सुनिश्चित गर्न र लोकतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले त्यसैको समन्वय गर्नका लागि समन्वय समिति बनाइएको बताए ।
उनले भने, ‘सरकार भनेको जनताप्रति उत्तरदायी निर्वाचित संस्था हो । त्यो सबै किसिमले जनताप्रति, संसदप्रति उत्तरदायी बन्छ । त्यसकारण उसको काममा हामीले दख्खल दिने कुरो गर्नुहुन्न । लोकतन्त्रवादीको नाताले सरकारको क्रियाकलाप, गतिविधिमा हस्तक्षेप गर्ने अथवा त्यसलाई दख्खल दिने कुनैपनि कुरा गर्न उचित हुँदैन । अहिले यो किन आवश्यकता भयो भने यो ५ दलको गठबन्धनले अहिले पनि लोकतन्त्रको रक्षाको लागि, व्यवस्थाको रक्षाको लागि, सत्ताको कुरा होइन व्यवस्थाको रक्षाको लागि । मैले जहिल्यै पनि भन्छु म सत्तालाई भन्दा अहिलेको अवस्थामा व्यवस्थालाई महत्त्व दिन्छु भनेर, किनभने व्यवस्था सुनिश्चित गर्नुछ नेपालमा । व्यवस्थाको टुंगो नलागेर, व्यवस्थालाई अस्थिर गराउने खेलहरूले गर्दा नेपाली जनताले दुःख पाएका छन् । त्यसो भएको हुनाले यो ५ दलले व्यवस्थालाई सुनिश्चित गर्नका लागि, लोकतन्त्रलाई सुनिश्चित गर्नका लागि, राष्ट्रियतालाई स्थिर दिशामा अगाडि बढाउनका लागि ५ दलले योगदान गर्न सकून् भनेर त्यसलाई समन्वय गर्नका लागि बनेको कमिटी हो यो ।’
वरिष्ठ नेता पौडेलले यस समन्वय समितिलाई कसैले राजनीतिक हतियारको रूपमा प्रयोग गर्नु नहुने बताए । समन्वय समितिको काम व्यवस्थामाथि आइपर्ने समस्याहरूबारे ५ दलीय गठबन्धनलाई सजग राख्दै गठबन्धनलाई संगठित राख्नु र समझदारी कायम राख्नु रहेको उनले उल्लेख गरे ।
उनले भने, ‘कसैले उपयोग गर्ने अथवा सरकारको काममा दख्खल दिने रूपमा यसलाई हतियार कसैले बनाउने यो कुरा हामी मान्दैनौं । यसले सरकारको काममा हस्तक्षेप गर्ने, दख्खल गर्ने काम गर्नै हुन्न । यसलाई केवल व्यवस्था माथि आइपर्ने समस्याहरू जे हुन्छन्, त्यसमा मात्रै देशलाई सजग राख्ने हो । ५ दललाई सजग राख्ने हो । ५ दललाई संगठित राख्ने हो । ५ दललाई व्यवस्थाको रक्षाको लागि, संविधानको रक्षाको लागि, राष्ट्रियताको रक्षाको लागि यो ५ दललाई संगठित राख्ने र समझदारी र सहकार्ययुक्त बनाएर लैजाने ।’
उनले ५ दलीय गठबन्धन समन्वय समितिको संयोजकको रूपमा आफू रहे पनि नेपाली कांग्रेस भित्रको आन्तरिक राजनीतिमा सभापति शेरबहादुर देउवासँगको लडाइँ भने कायमै रहने बताए । समग्र व्यवस्थाको हित रक्षाको निम्ति एकै ठाउँ, एउटै सोचाइ र सहयोगात्मक सम्बन्ध भएपनि पार्टी भित्रको आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा भने जहाँको त्यहीँ रहेको उनले प्रस्ट्याए ।
आगामी महाधिवेशनमा खुल्लमखुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुने उनले बताए । उनले भने, ‘हिजो जुन हाम्रो आन्तरिक लोकतान्त्रिक लडाइँ, आन्तरिक लोकतान्त्रिक प्रतिस्पर्धा जहाँ थियो, जहाँ छ त्यो त्यहीँ रहन्छ र त्यही अगाडि बढ्छ । महाधिवेशनमा खुल्लमखुल्ला लोकतान्त्रिक प्रतिस्पर्धा हुन्छ । लोकतान्त्रिक प्रतिस्पर्धा, लोकतान्त्रिक मर्यादाभित्र रहेर हुन्छ । के कमी कमजोरी हुन्, त्यसलाई हटाउने उद्देश्य राखेर खुल्लमखुल्ला आमकार्यकर्तालाई अपिल गरेर उनको साथ लिएर पार्टीमा सुधार ल्याउने कुरा अगाडि नै बढ्छ तर यतापट्टी यो व्यवस्थाको बारेमा, राष्ट्रको संवैधानिक संकटका बारेमा, कुनै पनि किसिमका अरु खेलहरू नखेलिउन् लोकतन्त्रका विरुद्धमा, त्यतापट्टी मात्र सजग रहनका लागि मात्रै यो कमिटीमा रहन आफुलाई मैले स्वीकार गर्या हो ।’
वरिष्ठ नेता पौडेलले समन्वय समितिमा देशमा हाल देखापरेका संकट र सकंट समाधानका निम्ति गठबन्धनले अपनाउनुपर्ने सावधानी र सजगताको सम्बन्धमा छलफल गरिने पनि बताए ।