
धादिङको कालुपाण्डे मार्गअन्तर्गत नीलकण्ठ नगरपालिका–८ मा बुधवार भएको बस दुर्घटनामा ३५ जना घाइते भएका छन् ।
द्रूतगतिमा गुडेको सवारीसाधन साँघुरो घुम्तीमा २ वटा बस एकआपसमा ठोक्किएर भएको दुर्घटनामा उनीहरू घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
धादिङबेंसीबाट चितवन गइरहेको ना५ख ३२३५ नम्बरको बस र काठमाडौंबाट धादिङबेंसी हँुदै फूलखर्कतर्फ आउँदै गरेको ना७ख ५८२८ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी जागेश्वर भण्डारीले बताए ।
दुर्घटनामा घाइते भएका सबैको धादिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये गम्भीर अवस्थाका २ जनाको थप उपचारका लागि ट्रमा सेन्टरमा पठाइएकोे छ ।
बाँकी सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
केही यात्रुलाई बसमा च्यापिएको अवस्थामा समेत उद्धार गरिएको थियो । दुर्घटनापछि सडक अवरुद्ध भएको थियो ।
अवरुद्ध सडकलाई डोजरको सहायताले सवारीसाधन हटाएर यातायात सञ्चालन गराइएको बताइएको छ ।