चीनका राष्ट्रपति सी चिनपिङले एसिया प्रशान्त क्षेत्रमा शीतयुद्धकालीन विभाजनहरूमा नफर्कन चेतावनी दिएका छन् ।
ताइवानको सुरक्षाका विषयमा तनाव बढेपछि उनको चेतावनी आएको हो ।
आगामी साता अमेरिकाका राष्ट्रपति जो बाइडनसँग हुन सक्ने सम्भावित शिखरवार्ताअघि सीले एसिया प्रशान्त क्षेत्रका मुलुकहरूले कोभिड महामारी जस्ता साझा चुनौतीविरुद्ध मिलेर लड्नुपर्ने बताए ।
‘विचारधारात्मक रेखा कोर्ने वा भूराजनीतिक आधारमा साना वृत्तहरू बनाउने प्रयास अवश्य विफल हुन्छन्,’ सीले एसिया प्रशान्त आर्थिक सहकार्य शिखर सम्मेलनको भर्चुअल बिजनेस कन्फरेन्सको साइडलाइनमा बताए । उक्त सम्मेलन न्युजील्यान्डले आयोजना गरेको हो ।
‘एसिया प्रशान्त क्षेत्र शीतयुद्ध कालको जस्तो भिडन्त र विभाजनमा फर्किनुहुँदैन,’ उनले बताए ।
ग्लास्गोमा चलिरहेको कोप२६ सम्मेलनमा चीन र अमेरिकाले आश्चर्यजनक रूपमा सहकार्य गर्ने घोषणा गरेलगत्तै सीको भनाइ आएको हो ।