
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले सर्वोच्च परिसरमा आन्दोलन गरिरहेको समयमा सर्वोच्चका न्यायाधीशहरूले विकसित पछिल्लो अवस्थाको बारेमा छलफल गरेका छन् । बारले आन्दोलन सशक्त बनाउँदै लगेपछि न्यायाधीशहरू छलफलमा जुटेका हुन् ।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै चरणबद्ध आन्दोलन गरेको बारले बिहीवार सर्वोच्च अदालत परिसरमा विरोध सभा नै गरेको थियो । आफूहरूको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएपछि बारले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
सर्वोच्च परिसरमा बारको आन्दोलन चलिरहेका बेला सर्वोच्चका १८ न्यायाधीशबीच छलफल भइरहेको थियो ।
यता बारले भने कडा आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । भोलि प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक लगाउने र इजलास बहिस्कार गर्ने घोषणा बारले गरेको छ ।
कानून व्यवसायीहरूको छाता संगठन बारले आन्दोलन सशक्त बनाएपछि प्रधानन्यायाधीशको राजीनामाको प्रसंग झन् पेचिलो बन्दै गएको छ ।