
चितवनमा हुने नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन गर्दा केन्द्रीय स्तरका नेताहरूले हस्तक्षेप गर्न थालेका छन् ।
कात्तिक ८ गते नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विराटनगर पार्टी कार्यालयमा पालिकाको अधिवेशन तथा प्रतिनिधि छनोट गर्दा सर्वसम्मत गर्न निर्देशन दिएका थिए ।
अध्यक्ष ओलीले पार्टीभित्र अर्काे गुट छैनन् भन्ने सन्देश दिनका लागि भए पनि निर्वाचन नगरी सर्वसम्मत गर्न निर्देशन दिए ।
अध्यक्ष ओलीको निर्देशन मान्दै केन्द्रीय सदस्य गुरु बराल, विनोद ढकाल, जीवन घिमिरे, भानुभक्त ढकाल, लालबाबु पण्डित लगायतका नेताले सहमति जुटाउने प्रयासका नाममा हस्तक्षेप गर्न खोजेको एमालेका जिल्लास्तरका नेताहरूको गुनासो छ ।
तर केन्द्रीय नेताहरूले सहमतिको प्रयास मात्रै गरेको बताएका छन् । ‘हामीले चुनावी प्रक्रियामा नगई सहमति गरौं भनेर मात्रै भनेका हौं,’ नेकपा एमालेका पोलिटब्युरो सदस्य लालबाबु पण्डितले भने, ‘हस्तक्षेप गरेका छैनौं ।’ उनले मोरङका ६ निर्वाचन क्षेत्रका ४० जना आकांक्षी तथा कार्यकर्ताहरूसँग छलफल मात्रै गरेको प्रतिक्रिया दिए ।
महाधिवेशन प्रतिनिधिका आकांक्षीहरूले भने केन्द्रका नेताहरूले हस्तक्षेप गरेर नाम नै तोकेर फलाना–फलानालाई प्रतिनिधिमा लैजानुपर्छ भन्न थालेका आरोप लगाएका छन् ।
एक आकांक्षीले भने पहिला माधव नेपालनिकट रहेकाहरूलाई प्रतिनिधि छनोटमै ‘क्लीन स्वीप’ पार्ने गरी केन्द्रका नेता लागेका आरोप लगाए । उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उठ्ने संकेत गरेपछि प्रतिनिधि छनोटमा ओली निकटका नेताहरूलाई मात्रै लैजाने तयारीमा एमाले मोरङ रहेको स्रोतले जनाएको छ ।
‘केन्द्रका नेताहरूलाई हामीले निर्देशन दिने कुरा भएन,’ एमाले मोरङका अध्यक्ष ऋषिकेश पोख्रेलले भने, ‘उहाँहरूले पनि हस्तक्षेप गर्नुभएको भन्ने हामीलाई सूचना आएको छैन, सकभर सहमतिमै नाम टुंग्याउने हाम्रो प्रयास हो । सहमति नभए निर्वाचन प्रक्रियाबाट भए पनि टुग्याउनुपर्ने बाध्यता रहेको छ ।’
प्रतिनिधि छनोटका लागि बिहीवार नेकपा एमाले मोरङको पार्टी कार्यालयमा बिहान १०–२ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । मनोनयन दर्ताका लागि १ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
प्रतिनिधि चयनका लागि कात्तिक २७ गते निर्वाचन मिति तोकिएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा २४ वटा मतदान केन्द्र तोकिसकेको एमाले मोरङले जनाएको छ ।
आगामी मंसिर १०–१२ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन चितवनमा हुँदैछ ।