
सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणले भारतीय ऊर्जा बजारमा बिजुली बिक्रीका लागि अनुमति पाएपछि त्यसबाट थप लाभ लिन निजी ऊर्जा उद्यमी लालायित देखिएका छन् ।
उनीहरूले बिजुलीको व्यापारका लागि निजी क्षेत्रलाई पनि अनुमति दिनुपर्ने माग उठाउँदै आएका छन् ।
अघिल्लो हप्तादेखि भारतमा प्राधिकरणले औपचारिक रूपमा बिजुली निर्यात गरिरहेको छ । पहिलो चरणमा ३९ मेगावाट मात्रै निर्यात भएपनि त्यसले सम्भावनाको ढोका खोलेको ऊर्जा उद्यमीहरूको भनाइ छ ।
ढोका खुलेको छ, त्यसलाई थप विस्तार गरेर लैजान सरकारले ऊर्जा उद्यमीलाई पनि अवसर र अनुमति दिनुपर्ने उनीहरूको माग छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिजुली बिक्रीका लागि अनुमति माग्दै विभिन्न ५ कम्पनीले आवेदन दिएका छन् ।
मन्त्रालयले कानूनी प्रबन्ध भएपछि मात्रै अनुमति दिन सकिने बताएको छ । नयाँ विद्युत् ऐनमा सो विषयलाई सम्बोधन गर्ने प्रयास गरिएको छ । राष्ट्रिय सभामा पेश भएको विद्युत् विधेयकमा बिजुलीको खरिद बिक्रीदेखि निर्यातसम्म पनि निजी क्षेत्रलाई समावेश गर्ने विषय उल्लेख छ ।
कानूनी प्रबन्धको अभावमा निजी क्षेत्रले स्थापना गरेको कम्पनीले अनुमति पाएको छैन । यद्यपी प्रयास जारी छ । सोही सन्दर्भमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) ले शुक्रवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री फम्फा भुसालसँग विद्युत् व्यापारको समग्र पक्षबारे छलफल गरेको छ ।
सो अवसरमा मन्त्री भुसालले तथ्यगत आधार प्रस्तुत गरे निजी क्षेत्रलाई पनि अनुमति दिने बताइन् । परम्परागत तबरले भन्दा पनि परिवर्तित यथार्थमा रहेर जलविद्युत् क्षेत्रका निर्णय लिइने स्पष्ट पार्दै उनले निजी क्षेत्रले पनि नयाँ ढंगले सोच्नुपर्ने समय आएको बताइन् ।
मन्त्री भुसालले विद्युत् व्यापार गर्न सक्छौं भन्ने विश्वासिलो आधार प्रस्तुत गरे सरकारले अनुमति दिने स्पष्ट पारिन् । उनले भनिन्, ‘तर्क र बहस मात्र होइन, हामी विद्युत् बिक्री गर्न सक्छौं भन्ने ग्यारेन्टी गरेर आउनुहोस्, धेरै विलम्ब नगरिकन अनुमति दिउँला ।’ विद्युत् व्यापार संवेदनशील विषय भएको बताउँदै मन्त्री भुसालले विद्युत्का क्षेत्रमा परम्परागत तबरले भन्दा पनि जिम्मेवार भएर काम गर्नुपर्नेमा जोड दिइन् ।