०२ असार २०८३, मंगलबार

सावधान ! सानैमा पनि देखिन सक्छ मधुमेह

कात्तिक २८, २०७८
सावधान ! सानैमा पनि देखिन सक्छ मधुमेह

आइतबार विश्व मधुमेह दिवस मनाइँदै छ । मधुमेहसम्बन्धी जनचेतनामूूलक कार्यक्रम आयोजना गर्दै यो दिवस मनाउन लागिएको हो । यसपटकको नारा ‘मधुमेह उपचारमा पहुँच’ भन्ने रहेको छ ।

नेपालमा चिनी (मधुमेह) रोग बालबालिकालाई समेत देखापर्न थालेको छ । रामेछापका सिजन सापकोटा अहिले आठ वर्षका भए। उनलाई मधुमेह देखिएपछि नियमित औषधि सेवन गरिरहेका छन् । खाना खाँदा उनले अड्कलेरमात्र खान्छन् । खाना खान मन त लागेको तर समस्याले गर्दा थोरै खाएर उठ्नुपर्ने बाध्यता रहेको उनी बताउँछन् । नेपालमा कुल जनसङ्ख्याको १० प्रतिशत मानिसमा मधुमेह रहेको अनुमान गरिएको छ ।

वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. ज्योति भट्टराईले पछिल्लो समय मधुमेहका रोगीहरू बढेको बताए ।

उनले सुगरको मात्रा धेरै भएर मानिसलाई कुनै असर गर्न नसक्ने भन्दै समय–समयमा सुगरको मात्रा परीक्षण गर्न आग्रह गरे । मधुमेह रोग वंशाणुगत रूपमा समेत लाग्ने भन्दै डा. भट्टराईले मधुमेह भएका बाबुआमाका छोराछोरीलाई पनि मधुमेह हुन सक्ने बताए । उनले बढी तौल भएका मानिसमा मधुमेह देखिने गरेको जानकारी दिए । उनका अनुसार तनाब बढी लिने व्यक्तिलाई पनि मधुमेह हुन सक्छ । डा. भट्टराईले अधिकांश मधुमेह रोगीलाई आफूलाई रोग लागेको पत्तो नहुने बताए । उनले मधुमेह रोगबाट बच्न नियमित व्यायाम गर्नुपर्ने, सन्तुलित भोजन, चिकित्सकको परामर्शअनुसार रोगलाई नियन्त्रणमा राख्नुपर्ने बताए ।

डा. भट्टराईले यसमा हेलचेक्र्याइँ गरेर बस्दा मिर्गौला फेल हुने, मुटुको रोग, पक्षघात, अन्धोपनजस्ता समस्या देखिन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने बताए । ५० प्रतिशत बिरामीलाई मधुमेह भएको थाहा नहुने भन्दै डा. भट्टराईले मधुमेहको जोखिम बढेसँगै यसको दीर्घकालीन असर प्रत्येक परिवारमा देखिने बताए ।

पोषणविद् प्राध्यापक डा. जया प्रधानले मधुमेहका बिरामीले सधँै स्वस्थकर खाना खानुपर्नेमा जोड दिए । उनले मानिसको शरीरमा क्यालोरी बढी भयो भने शरीरमा सञ्चित हुने र मोटोपन बढ्दै जाँदा मधुमेह हुन सक्ने बताए । छिनछिनमा पिसाब लाग्नु, पिसाब गरेको ठाउँमा कमिला देखिनु, धेरै भोक तथा प्यास लाग्नु, विनाकारण तौल घट्दै जानु, थकाइ धेरै लाग्नु, घाउ–खटिरा सजिलै ठीक नहुनु, सङ्क्रमण भइरहनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, जिउ चिलाउनु, दीर्घकालीन अवस्थामा मिर्गौला, आँखा, स्नायु, मुटु र रक्तनलीमा असर गर्छ ।

मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले मानिसमा चिनीको मात्रा बढी भएमा मधुमेह रोग लाग्ने जानकारी दिँदै मधुमेहलाई नियन्त्रणमा राख्न नसकेको अवस्थामा मिर्गौलामा असर गर्ने बताए ।

वीर अस्पतालका मधुमेह रोग विशेषज्ञ डा. दीपक मल्लले मधुमेह व्यवस्थापन आफैँबाट गर्नुपर्ने र रोकथामका लागि सचेतना अपनाउनुपर्ने बताए । उनले वीर अस्पतालमा आउने १० जना बिरामीमध्ये छ जनामा मधुमेह हुने र ती जटिल अवस्थामा आउने गरेको बताए । उनले आँखाको रेटिनामा असर गरे पनि यसको लक्षण तत्कालै नदेखिने भन्दै आँखामा धेरै असर गरिसकेपछि मात्र रोगका बारेमा थाहा हुने बताए । मधुमेह भएको थाहा पाउँदा विकसित मुलुकमा ५ प्रतिशतको आँखामा असर भएको पाइए पनि विकासोन्मुख देशमा यो सङ्ख्या दोब्बर रहेको पाइएको छ । गोरखापत्र दैनिकमा सरोज ढुङ्गेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्