०२ असार २०८३, मंगलबार

नेपाली विद्यार्थी मर्कामा

कात्तिक २८, २०७८
नेपाली विद्यार्थी मर्कामा
फाइल तस्वीर

कोभिड–१९ महामारी विगत दुई वर्षयता मत्थर हुने क्रममा छ तर एउटा देशबाट अर्को देशमा आवतजावत भने अझै सहज हुन सकेको छैन । आवतजावत अवरुद्ध हुँदा चीनमा पढ्ने नेपाली विद्यार्थी मर्कामा परेका छन् ।

महामारीबाट जोगिन घर फर्केका विद्यार्थीको भविष्य अन्योलमा परेको गुनासो झापा सुरुङ्गाका दिव्यप्रकाश राय गर्छन् । उनी एमबीबीएस पढ्न चीनको ग्वान्सी प्रान्तको विश्वविद्यालय पुगे । एक वर्षको भाषा अध्ययन र बाँकी पाँच वर्षको चिकित्सकीय अध्ययन पनि पूरा गरे ।

एकवर्षे चिकित्सकीय अभ्यास गर्नुपर्ने समयमै महामारीको जालो चीनमा फैलन थाल्यो । जसका कारण विश्वविद्यालयकै सल्लाहमा केही समयका लागि भनेर उनी सन् २०२० को फेब्रुअरीमा नेपाल फर्किए । तर, फर्कने समय दुई वर्ष बितिसक्दा पनि आएन । उनले भने, “लाग्ने खर्च सबै तिरिसकियो, इन्टर्नसिप गर्न नपाउँदा पढेको व्यर्थजस्तो भइसक्यो, कि त नेपालमै इन्टर्नसिपको व्यवस्था गरिदिनुप¥यो नभए फर्कनका लागि अनुमति सरकारले दिलाइदिनुप¥यो ।” उनको समूहमा नेपालबाट २३ जना चिकित्सा अध्ययनका लागि चीन पुगेका थिए । तीमध्ये करिब पाँच जना उतै बसे । बाँकी स्वदेश फर्केका थिए ।

उनीजस्तै चीन सरकारले दिएको छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न चीन पुगेका बैतडीका अर्जुन जोशी पनि आफ्नो भविष्य अन्योलमा परेको गुनासो गरे। हरेकपल अभ्यास गरिरहनुपर्ने विषय हो– इन्जिनिरिङ तर त्यो दुई वर्षअघिदेखि छुटेको छुट्यै छ ।

चीनको थेन्चिन युनिभर्सिटीले अहिले केही समययता अनलाइन कक्षा सुरु गरेको छ । त्यसले विषयगत ज्ञान दिए पनि त्यसको अभ्यास नहुँदा पढेको कुनै तुक नभएको अनुभव उनले सुनाए । पूूरै छ वर्षमध्ये हालसम्म डेढ वर्षको कोर्स बल्लबल्ल पूरा हुने क्रममा छ।

उनी थप्छन्, “विश्वविद्यालय पुगेर पढ्न पाए, पढेको कुरा व्यावहारिक रूपमै सिक्न पाइन्थ्यो, सरकारले छिट्टै चीन सरकारसँग अनुमति लिइदिए हुन्थ्यो । ”

शिक्षा मन्त्रालयको विदेश विभागअन्तर्गत रहेको नो अब्जेक्सन लेटर शाखाका प्रमुख नारायण पोखरेलका अनुसार २०६८ साल साउनदेखि कोरोना महामारी सुरु हुँदाको बखत २०७६ माघसम्म चीनमा अध्ययनका लागि १० हजार १७८ जना विद्यार्थीले नो अब्जेक्सन लेटर लिएका थिए । त्यसपछि पछिल्लो समय २०७७ भदौदेखि हालसम्म १३७ जना विद्यार्थीले चीनमा अध्ययन प्रयोजनका लागि नो अब्जेक्सन लेटर लिएका थिए ।

सन् १९५० देखि चीनले विदेशी विद्यार्थी अध्ययनका लागि अनुमति दिन सुरु गरेको थियो । त्यहाँका ३१ प्रदेशका ३६३ विश्वविद्यालयमा विदेशका विद्यार्थीले अध्ययन गर्न पाउने व्यवस्था रहेको काठमाडौँस्थित चिनियाँ दूतावासले उल्लेख गरेको छ । दूतावासको विवरणअनुसार सन् २००१ सम्म १६९ देशका ६१ हजार ८६९ विद्यार्थीले चीनमा अध्ययन गरेका थिए ।

त्यसयता पनि चीनमा उच्च शिक्षा अध्ययनका लागि जान नेपाललगायत विभिन्न मुलुकका विद्यार्थीको चासो उच्च रहेको पाइन्छ । चीनमा अध्ययन गर्दै गरेर नेपाल आएका र पुनः जान नपाएका विद्यार्थीलाई चीनमा जाने वातावरण मिलाइदिनका लागि परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपालस्थित चीनका राजदूत होउ यान्छीमार्फत पनि आग्रह गरेका छन्। गोरखापत्र दैनिकमा चाँदनी हमालले खबर लेखेकी छन्  ।

salt training

कमेन्ट गर्नुहोस्