२७ असार २०८३, शनिबार

विवेकशील साझा, सिटिजन्स डिस्कसन र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने

कात्तिक २८, २०७८
विवेकशील साझा, सिटिजन्स डिस्कसन र राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने

विवेकशील साझा पार्टी, सिटिजन्स डिस्कसन फोरम तथा राष्ट्रिय जनता दरबार पार्टीबीच एकीकरण हुने भएको छ । आइतवार बसेको केन्द्रीय समितिको बैठकले दुईतिहाइ बहुमतका साथ एकताको सहमति पत्रलाई अनुमोदन गरेको विवेकशील साझा पार्टीले जनाएको छ । 

विवेकशील साझाका अनुसार एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने छ । र, रवीन्द्र मिश्र पार्टीको एकल कार्यकारी अध्यक्ष रहनेछन् ।

सिटिजन्स डिस्कसन फोरम गत डेढ वर्षदेखि नियमित रूपमा बहस चलाउँदै आएको विभिन्न पेसाकर्मी, अभियानकर्मी र राजनीतिक पृष्ठभूमि भएका व्यक्तिहरूको समूह हो ।

‘राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपालीको नाम र शान’ का लागि २०७१ सालमा भ्रष्टाचार विरोधी अभियानका रूपमा स्थापना भएको राष्ट्रिय जनता दरबार अभियान यसै वर्ष गत वैशाखमा राष्ट्रिय जनता दरबार पार्टीमा परिणत भएको हो ।

सिटिजन्स डिस्कसन फोरमबाट ३५ जना र राष्ट्रिय जनता दरबार पार्टीबाट १९ जना गरी विवेकशील साझा पार्टीको नयाँ बन्ने केन्द्रीय समितिमा ५४ जना सामेल हुनेछन् । 

यी दुवै पक्षबाट केन्द्रीय कार्य सम्पादन समितिमा ११ जनाको सहभागिता रहने छ । एकीकरण पश्चात् विवेकशील साझा पार्टीको केन्द्रीय समिति १७५ तथा केन्द्रीय कार्य सम्पादन समिति ३७ सदस्यीय हुनेछ ।

सिटिजन्स डिस्कसन फोरमका संयोजक कर्णबहादुर शाहीले भने, ‘विदेशीबाट परिचालित नभई नेपालीहरूबाटै स्वचालित राष्ट्रवादी शक्ति निर्माण नेपाली राजनीतिका लागि अत्यावश्यक भइसकेको छ । हामी त्यसैका लागि रूपान्तरणकारी नयाँ शक्ति निर्माणमा जुटेका हौँ । यो शुरुवात मात्र हो ।’

राष्ट्रिय जनता दरबार पार्टी अध्यक्ष एसपी साह सारथीले देशमा गत केही वर्षयता सङ्घीयता, धर्म निरपेक्षता, जातीयता तथा क्षेत्रीयताको भावनालाई उक्साएर सामाजिक दरार र विखण्डन ल्याउने प्रयास भएको बताए । ‘त्यसले देशको स्वाधीनता र सार्वभौमिकतालाई क्षयीकृत गरेको छ। त्यसलाई रोक्न सम्पूर्ण देशभक्त शक्तिहरू एकत्र हुनै पर्ने अवस्था आएको छ,’ उनले भने । 

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले रूपान्तरणकारी शक्ति निर्माणका लागि भएको यो एकता राष्ट्रिय राजनीतिको मार्ग परिवर्तन गरी देशको दूरगामी हित तथा विकास सुनिश्चित गर्ने दिशामा एउटा बलियो कदम भएको बताए । उनले यो देशमा शान्ति, स्थिरता, सुशासन र समतामूलक सम्वृद्धि चाहने र देशलाई शिरमा राख्ने सबै नागरिक, विभिन्न समूह तथा पार्टीहरूलाई निहित स्वार्थ, भ्रष्टता र कुशासनको चक्र तोड्नका लागि एकजुट हुन पनि आग्रह गरेका छन् ।

अध्यक्ष मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहका लागि प्रस्ताव गरेको र विवेकशील साझा पार्टीले हालै अनुमोदन गरेको ‘मार्ग परिवर्तन: विचारभन्दा माथि देश’ दस्तावेजलाई एकीकृत पार्टीले अंगीकार गर्दै अघि बढ्ने बताइएको छ । एकता घोषणा छिटै एक सार्वजनिक समारोहका माझ गरिने मिश्रले बताए । 

salt training

कमेन्ट गर्नुहोस्