भारतको मणिपुर राज्यमा भारतीय सेनाका कर्नेल, उनकी पत्नी तथा सन्तान र चार जवानको हत्यापछि भारतीय सञ्चारमाध्यमहरूले त्यसमा छिमेकी मुलुक चीनको हात रहेको आशंका गर्दै खबर दिएका छन् ।
भारतका रक्षा विशेषज्ञ तथा शीर्ष सरकारी अधिकारीहरूबीच यस विषयमा गम्भीर छलफल चलिरहेको बताइएको छ ।
पोहोर साल अक्टोबर महिनामा चीनको प्रोपागान्डा मशिनरीले ताइवानसँग भारतले व्यापार सम्झौता गरेमा ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो । ताइवानसँगको सम्झौताको दण्डस्वरूप भारतले उत्तरपूर्वी राज्यहरूमा पृथक्तावादी आन्दोलन चर्किने स्थितिको सामना गर्नुपर्ने चेतावनी त्यतिखेर दिइएको थियो । अनि सिक्किमलाई भारतको राज्य नमान्ने धम्की पनि दिइएको थियो ।
भारतका एक वरिष्ठ अधिकारीले हिन्दुस्तान टाइम्स पत्रिकासँग कुरा गर्दै भने, ‘चीनले उत्तरपूर्वी भारतमा अतिवादलाई प्रोत्साहन गरेको आशंका छ । मणिपुर समेत उत्तरपूर्वका राज्यहरूमा उग्रवादी समूहले म्यान्मारको अराकान आर्मी र युनाइटेड आर्मी जस्ता सशस्त्र समूहहरूसँग सम्पर्क राख्ने गरेका छन् । त्यतैबाट चिनियाँ हतियार उत्तरपूर्वी राज्यमा आउने गरेका छन् ।’
हिन्दुस्तान टाइम्सले अर्का एक अधिकारीलाई उद्धृत गर्दै लेखेअनुसार, चीनले युनाइटेड लिबरेसन फ्रन्ट अफ असमका कमान्डर परेश बरुआ र नेसनल सोसलिस्ट काउन्सिल अफ नागाल्यान्डका फुन्तिङ शिमरङ लगायतका उग्रवादीहरूलाई आश्रय दिएको छ । उनीहरू सबै चीनको युन्नान प्रान्तमा रहेको रुइलीमा बसिरहेका छन् ।
पाकिस्तानले कश्मीरमा आतंकवादीहरूलाई सहयोग गरे जस्तै चीनले उत्तरपूर्वका उग्रवादीलाई सहयोग गरेको हुन सक्छ । यो सत्य हो भने पश्चिमी सीमामा चुनौती बेहोरिरहेको भारतका लागि पूर्वी मोर्चा समेत खुलेको छ ।
४६ असम राइफल्सका कमान्डिङ अफिसर कर्नेल विप्लव त्रिपाठी, उनकी पत्नी र सन्तान सहित ६ जनाको हत्याको जिम्मेवारी लिएको प्रतिबन्धित समूह पिपुल्स लिबरेसन आर्मीको सम्बन्ध चिनियाँ सेनासँग जोडिएको छ ।
सेवानिवृत्त लेफ्टिनेन्ट जनरल शौकीन चौहानले वास्तविक नियन्त्रण रेखामा चीनको डेग नचलेपछि समान सोच भएका उग्रवादीहरूलाई उसले उचाल्न शुरू गरेको हुन सक्ने बताए । चौहानले सन् २०१७–१८ मा असम राइफल्सको नेतृत्व गरेका थिए ।
भारतीय विश्लेषकहरूका अनुसार, भारतीय सेनाले उत्तरपूर्वको सुरक्षा व्यवस्थित गर्नका लागि महत्त्वपूर्ण प्रगति गरेको छ । त्यसैले त्यहाँ सैनिकहरूको सुनियोजित र क्रमिक तैनाथी भइरहेको छ । यस्तो अवस्थामा ठूलो घटना गराएर सैनिकहरूलाई त्यहाँ अल्झाउनका लागि चीनले षड्यन्त्र गरेको हुन सक्छ ।