
१ नम्बर प्रदेश सरकारका सहयात्री गठबन्धन दलहरूले मुख्यमन्त्री राजेन्द्र राईलाई विश्वासको मत दिन सांसदहरूलाई ‘ह्वीप’ लगाएका छन् ।
विराटनगरको बिग होटलमा सांसदहरूलाई भेला गराएर ह्वीप जारी गरिएको छ ।
मुख्यमन्त्री राईले भोलि मंगलवार विश्वासको मत लिँदैछन् । तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत कात्तिक १६ गते राई मुख्यमन्त्री बनेका हुन् ।
नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री बनेका छन् । प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् ।
९३ सदस्यीय प्रदेश सभामा १ सांसद अदालतबाट दोषी ठहर भएर फरार भएपछि हाल ९२ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन् ।
प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेसँग ४१ सांसद छन् । जसमा १ सभामुख र १ जना फरार भएका कारण अहिले एमालेसँग ३९ जना मात्रै रहेका छन् । राप्रपासँग पनि १ मत रहेको छ ।


