०८ साउन २०८३, शुक्रबार
न्यायाधीश-बार छलफल

बारलाई न्यायाधीशहरूको प्रश्न– सधैँ बेञ्चबाहिर बस्न गाह्रो हुन्छ, तपाईंहरूको धारणा के हो ?

कात्तिक २९, २०७८
बारलाई न्यायाधीशहरूको प्रश्न– सधैँ बेञ्चबाहिर बस्न गाह्रो हुन्छ, तपाईंहरूको धारणा के हो ?

न्यायाधीशहरूले सधैँ इजलासबाहिर बस्न गाह्रो हुने भन्दै यस बारेमा बारको धारणा मागेका छन् ।

बार पदाधिकारीहरूसँग सोमवार भएको भेटमा न्यायाधीशहरूले विस्तृतमा धारणा नराखे पनि सधैँ इजलासबाहिर बस्न गाह्रो हुने भएकाले के गर्न सकिन्छ भन्ने विषयमा बारको धारणा मागेका हुन् ।

‘सधैँ यसरी बेञ्चबाहिर बस्न मिल्दैन, तपाईंहरूको दृष्टिकोण के हो, भोलि आउँदा लिएर आउनुस् भनेका छौं,’ एक न्यायाधीशले लोकान्तरसँग भने ।

बैठकमा बार पदाधिकारीहरूले भने प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नआएसम्म आफूहरूको आन्दोलन नरोकिने बताएका थिए ।

साथै उनीहरूले प्रधानन्यायाधीश र न्यायाधीशहरूबीच हुने दुईपक्षीय सम्झौता समेत आफूहरूलाई मान्य नहुने बताए ।

आजको छलफलमा ५ जना न्यायाधीश भने उपस्थित भएनन् ।

न्यायाधीशहरू तेजकुमार केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, कुमार चुडाल र मनोजकुमार शर्मा बारसँगको छलफलमा अनुपस्थित भएका हुन् ।

न्यायाधीश सपना प्रधान मल्ल पनि न्यायाधीशहरूको बैठकमा अनुपस्थित भएकोमा बारसँगको छलफलका लागि भने उपस्थित भएकी थिइन् ।

बारसँगको छलफलका कारण सर्वोच्च अदालत नियमावलीमा संशोधनको खाका तयार पार्ने काम भने आज प्रभावित भएको छ ।

‘आजै सकिन्थ्यो, बारले भेट्न खोजेकाले सकिएन,’ ती न्यायाधीशले लोकान्तरसँग भने ।

बार र न्यायाधीशहरूबीचको छलफल भोलि पनि जारी रहने छ ।

salt training

कमेन्ट गर्नुहोस्