
कपिलवस्तु र अर्घाखाँचीमा प्रवाह हुने बिजुलीको गुणस्तर बढाउन तथा सहज आपूर्तिको व्यवस्थाका लागि लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निर्माणको क्रममा रहेका सबस्टेसन अन्तिम चरणमा रहेको छ ।
प्राधिकरणका अनुसार बाणगङ्गा नगरपालिका–७ मा र अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेससनको निर्माण अन्तिम चरणमा पुगेको हो ।
कपिलवस्तुको मोतीपुर र अर्घाखाँचीको सन्धिखर्क सबस्टेसन क्रमशः आगामी १५ मंसिर र १५ पुसभित्र सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको छ ।
बुर्तिवाङ–पाउदी अमराई–तम्घास–सन्धिखर्क गोरुसिङ्गे १३२ केभी प्रसारणलाइन आयोजनाअन्तर्गत मोतीपुर र सन्धिखर्क सबस्टेसनमा निर्माणको अन्तिम चरणका काम भइरहेको हो । सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मर रहने छन् ।
सबस्टेशनका सम्पूर्ण उपकरणको जडान सम्पन्न गरी परीक्षण भइरहेको छ ।
पूर्वपश्चिम १३२ केभी लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिने छ । यसका लागि टावर निर्माण गरिसकिएको छ भने तार तान्ने काम भइरहेको छ ।
आयोजनाअन्तर्गत मोतीपुर–सन्धिखर्क खण्डको प्रसारण लाइनमा पर्ने १०६ वटा टावरको जग हालिएको छ । सतासी वटा टावर खडा गरिएको छ भने १२ किलोमिटर तार टाङ्गिएको छ ।