२० असार २०८३, शनिबार

ई–पासपोर्ट लागू भएपछि अब के हुन्छ तपाईं हामीले बोक्दै आएको ‘एमआरपी’ ?

मंसिर १, २०७८
ई–पासपोर्ट लागू भएपछि अब के हुन्छ तपाईं हामीले बोक्दै आएको ‘एमआरपी’ ?

आजबाट नयाँ ई–पासपोर्टको शुरूआत भएको छ । राहदानी विभागले एक कार्यक्रम गर्दै डिजिटल नेपालअन्तर्गत नयाँ इलेक्ट्रोनिक पासपोर्ट जारी गर्न शुरू गरेको हो ।

विभागले पहिलो इलेक्ट्रोनिक पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई दिएको थियो ।

राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले प्रविधिमा नयाँ फड्को मार्दै ई–पासपोर्ट आएको बताए । 

इलेक्ट्रोनिक पासपोर्ट लागू भएपछि पुराना पासपोर्ट के हुन्छ भन्ने धेरैको जिज्ञासा छ । आज राहदानी विभागको नयाँ भवनमा भएको कार्यक्रममा महानिर्देशक अर्यालले समयावधि सकिएका पुराना पासपोर्ट नयाँ बनाउनुपर्ने बताए । तर समयावधि भएका एमआरपी पासपोर्टले काम गर्ने उनले बताए ।

‘ई–पासपोर्ट विस्तारै लागू हुँदै जान्छ । अहिले नै पुरानो पासपोर्टलाई परिवर्तन गरिहाल्नुपर्ने भन्ने होइन,’ कार्यक्रममा अर्यालले भने, ‘म्याद सकिएका र नयाँ पासपोर्ट बनाउनेले ई–पासपोर्ट पाउनुहुन्छ ।’

उनका अनुसार अहिले ई–पासपोर्ट बनाउन बाध्यकारी छैन । नेपाल आईकाओको सदस्य राष्ट्र भएपछि सन् २०१० देखि मेसिन रिडेबल पासपोर्ट शुरू भएको थियो । सन् २०१५ देखि पूर्णरूपमा हस्त लिखित राहदानी विस्थापित भएको थियो । त्यसयता एमआरपी पासपोर्ट प्रयोग हुँदै आएको थियो । अब फेरि कहिलेसम्म एमआरपी विस्थापित गरिसक्ने समय सीमा नभएता पनि छिट्टै विस्थापित हुने अर्यालले बताए ।

ई–पासपोर्ट नयाँ भवनबाट, एमआरपी भने नारायणहिटीबाटै बन्ने

नयाँ ई– पासपोर्ट बनाउने व्यक्तिहरूले अग्रिम बुकिङ लिइसकेपछि राहदानी विभागको नयाँ भवन काठमाडौंको त्रिपुरेश्वरमा आउनु पर्ने महानिर्देशक डोरनाथ अर्यालले बताए । अर्जेन्ट परेर एमआरपी बनाउनेहरू भने पुरानै ठाउँ नारायणहिटी दरबारमै जानु पर्ने उनले बताए । 

‘हामीले आजबाट ई–पासपोर्ट बाहेक अन्य कुनै पासपोर्ट जारी गर्दैनौं तर अर्जेन्ट पर्नेले पुरानै ठाउँमा जानुपर्छ,’ अर्यालले लोकान्तरसँग भने ।

कसरी लिने ई–पासपोर्ट ?

राहदानी विभागको बेवसाइटमा गएर ई–पासपोर्ट बनाउनका प्रि–अनलाइन फर्म भर्नु पर्नेछ । त्यो फर्म भरेपछि पासपोर्ट लिने समय दिनेछ । त्यही समयको आधारमा त्रिपुरेश्वर भएर आफ्नो अभिलेख, बायोमेट्रिकसहित भरेर पासपोर्ट लिन सकिने विभागका महानिर्देशक अर्यालले बताए ।

ई–पासपोर्ट लिन अनिवार्यरूपमा राष्ट्रिय परिचय पत्र वा परिचय पत्रको नम्बर आवश्यक हुने विभागले बताएको छ ।

राष्ट्रिय परिचय पत्र नम्बर नभएको खण्डमा सिफारिशका लागि जिल्लामा जानुपर्ने आवश्यकता नहुने महानिर्देशक अर्यालले बताए ।

राहदानी विभागको दायाँ साइटमा अनलाइन प्री–एलोटमेन्ट लेखिएको रातो बक्समा क्लिक गर्ने र त्यहाँ दिएको क्याप्चा हानेपछि व्यक्तिगत विवरण भर्ने बक्स खुल्छ र त्यहाँ आफ्नो व्यक्तिगत विवरण भर्नुपर्छ । ४ वटा सेक्सन रहेकोमा ‘नेक्स्ट अफ किन’ अर्थात आफ्नो रगतको नाताको विवरण भर्नुपर्छ ।

तेस्रो बक्समा अपोइन्टमेन्ट बक्स खुल्छ । त्यसमा आफूलाई पायक पर्ने समय र दिनको समय लिन सकिन्छ । र, अन्तिममा सबमिट प्रक्रिया पूरा हुन्छ । त्यसपछि आफूले चाहेको समयमा गएर पासपोर्ट लिन सकिन्छ ।

६ प्रकारका पासपोर्ट, सामान्य राहदानीको रंग फेरियो

राहदानी विभागले सामान्य राहदानीको रङ परिवर्तन गरेर चक्लेटी रंगको पासपोर्ट बनाउने भएको छ । यसअघि सामान्य पासपोर्ट हरियो रंगको हुन्थ्यो ।

कूटनीतिक पासपोर्ट (रातो), विषेश पासपोर्ट (निलो), अस्थायी पासपोर्ट, सिम्यान्स अभिलेख पासपोर्ट, सर्भिस पासपोर्ट (गाढा रातो) र सामान्य पासपोर्ट (चकलेटी) रंगका हुनेछन् । 

३४ पेज र ६६ पेजको पासपोर्ट लिन पाइने

अब जारी हुने ई–पासपोर्ट भने विदेश भ्रमण गर्ने आवश्यकता अनुसार लिन पाइने भएको छ । राहदानी विभागका अनुसार अब ३४ पेजको राहदानीको सामान्य अवस्थामा जिल्लाबाटै आवेदन दिँदा ५ हजारमा लिन पाइन्छ ।

विभागबाटै लिन चाहेको खण्डमा १२ हजार तिर्नुपर्छ । ६६ पेजको पासपोर्ट विभागबाट लिँदा २० हजार रुपैयाँ तिर्नुपर्छ ।

यसभन्दा अगाडि ३२ पेजको एमआरपी पासपोर्ट जारी हुँदै आएको थियो । 

सामान्य दिनमा जिल्लाबाट ५ हजार, ३ दिनको १० हजार र अर्जेन्ट एकै दिनमा १५ हजार तिरेर पासपोर्ट पाइन्थ्यो ।

salt training

कमेन्ट गर्नुहोस्