
नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सुदूरपश्चिमलाई विश्वभर चिनाउन धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास हुनु जरुरी रहेको बताएका छन् ।
सुदूरपश्चिमकै धार्मिक आस्थाको धरोहर तथा प्रसिद्ध बडिकेदार मेलामा सहभागी हुनका लागि बुधवार डोटी आएका अध्यक्ष नेपालले सुदूरपश्चिम प्रदेशमा रहेका विभिन्न धार्मिक, पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न र देश विदेशमा चिनाउनका लागि भए पनि ती क्षेत्रको संरक्षण तथा थप विकास गर्न जरुरी रहेको बताए ।
उनले भने, ‘सुदूरपश्चिम धार्मिक, पर्यटकीय क्षेत्रसहित कला संस्कृतिले धनी प्रदेश हो, यहाँका पुराना कला संस्कृति र धार्मिक क्षेत्रको प्रचारप्रसारसहित संरक्षण गर्न अति जरुरी छ ।’
उनले डोटीमा हिन्दू धर्मका चारै धामलगायत प्रमुख धार्मिक क्षेत्रको एउटै स्थानमा हेर्न मिल्ने गरी पर्यटकीय संग्रहालय बनाउनुपर्नेमा जोड दिए । पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले आफू प्रधानमन्त्री भएका बेला सबै धार्मिक क्षेत्रको झल्को दिने गरी धार्मिक संग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको भए पनि आफू सरकारबाट बाहिरिएसँगै सो कुराले प्राथमिकता नपाएको दुखेसो गरे ।
उनले भने, ‘म प्रधानमन्त्री हुँदा धार्मिक संग्रहालय स्थापना गर्ने अवधारणा अगाडि ल्याएको थिए, पछि कसैले बनाउनु भएन । अब चाँडै धार्मिक संग्रहालय निर्माण गर्ने कार्यले सफलता पाओस् ।’
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पुराना धार्मिक कला, संस्कृतिको जगेर्ना गर्नुपर्ने बताए । ‘नयाँ पिँढीलाई जानकारी होस् भन्नका लागि र आफ्नो संस्कृति जोगाइ राख्न र चिनाउनका लागि पुराना धार्मिक कला, संस्कृतिको जगेर्ना गर्नु आवश्यक छ,’ मन्त्री आलेले भने, ‘धार्मिक कला, संस्कृतिको जगेर्ना गर्न मेरो मन्त्रालयले पूर्ण सहयोग गर्नेछ ।’