१४ असार २०८३, आइतबार

यस्तो छ एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका

यस्तो छ एमालेको दशौं राष्ट्रिय महाधिवेशनको कार्यतालिका

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिरको १० देखि १२ सम्म चितवनमा आयोजना हुन लागेको छ । 

एमालेको दशौं राष्ट्रिय महाधिवेशनको मुख्य काम भनेकै नेतृत्व चयन हो । एमालेको विचार नीतिको बारेमा बहस गर्नका लागि विधान महाधिवेशन गर्ने व्यवस्था गरेको छ । 

गत असोज १५ देखि १७ सम्म विधान महाधिवेशन गरेर एमालेले महाधिवेशनको वैचारिक र सैद्धान्तिक विषय टुङ्गो लगाइसकेको छ । 

तसर्थ, एमालेको दशौं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि सोझै नेतृत्व चयनमा केन्द्रित हुने भएको छ । 

मंसिर १० गते चितवनको नारायणी किनारमा उद्घाटन समारोह आयोजनाको तयारी छ । उद्घाटनको अवसरमा पाँच लाखभन्दा बढी जनसहभागिता जुटाउने तयारी गरेको महाधिवेशनमा जनपरिचालन कमिटीका संयोजक सुरेन्द्र पाण्डेले बताएका छन् । 

उनी महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक पनि हुन् । 

हुन त एमालेका नेताहरूले चितवनमा एकताको महाधिवेशन हुने भन्दै आएका छन् । नेतृत्व सहमतिमा चयन गरेर पार्टीमा एकताको सन्देश दिने उनीहरूको दाबी छ ।

मंसिर १० मा महाधिवेशन उद्घाटन भएपछि ११ गतेबाट नेतृत्व चयन प्रक्रिया शुरू हुनेछ । 

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डेले एमालेको ई–बुलेटिन नवयुगलाई दिएको अन्तर्वार्तामा मंसिर ११ गते बिहान बन्दसत्रको कार्यक्रम शुरु हुने बताएका छन् ।

‘शुरूमा अध्यक्षको मन्तव्यपछि सम्भवतः हामी अध्यक्ष मण्डल गठन गरेर उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाउने छौँ’, पाण्डेले भनेका छन् ।

एमालेले दशौं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनको मतदानका लागि भोटिङ मशिन प्रयोग गर्ने तयारी गरेको छ । 

बन्दसत्र सुरू भएसँगै प्रतिनिधिलाई भोटिङ मशिन प्रयोगको तालिम पनि दिने तयारी एमालेले गरेको छ । 

सोही दिन साँझसम्ममा दाबी–विरोध फिर्ता लिने समय हुने पाण्डेले बताएका छन् । त्यसदिन प्रतिनिधिहरूलाई इंगेज गर्नका लागि सांस्कृतिक कार्यक्रम आयोजना हुने उनले बताए । 

सबै प्रतिनिधिलाई ११ गते साँझको खाना भने एमाले अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट खुवाउने तयारी रहेको पनि पाण्डेले बताए । 

मंसिर १२ गते बिहान ८ बजेबाट निर्वाचन प्रक्रियाअघि बढाउने तयारी एमालेले गरेको छ । 

पाण्डेका अनुसार, १२ गतेसम्म महाधिवेशनको सम्पूर्ण औपचारिक काम सम्पन्न हुनेछ ।  

‘प्रतिनिधिका लागि हामीले १२ गते बेलुकासम्मका लागि खाने–बस्ने व्यवस्थापन गरेका छौँ । १३ गते बिहान नयाँ नेतृत्व छनोटसँगै सबै प्रतिनिधिलाई बिदाइ गर्ने तयारी भएको छ’, पाण्डेले भने ।

१३ गते नै महाधिवेशनमा खट्ने स्वयंसेवक र कलाकारलाई सम्मान गर्ने कार्यक्रम राखेका पाण्डेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्