
भारतीय जनता पार्टीका प्रवक्ता विजय सोन्कर शास्त्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधाम क्षेत्रको विकासका लागि घोषणा गरेको १०० करोड रुपैयाँ छिट्टै उपलब्ध हुने बताएका छन् ।
धार्मिक भ्रमणका क्रममा जनकपुरधाम आइपुगेका उनले सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेपाल र भारतको सम्बन्ध पौराणिक र ऐतिहासिक रहेको चर्चा गर्दै प्रधानमन्त्रीको घोषणा बमोजिमको रकम चाँडै नै भारत सरकारले उपलब्ध गराउने जनाए ।
प्रवक्ता शास्त्रीले रामायण सर्किट रेल्वे योजनामा जनकपुरधाम पनि रहेको उल्लेख गरे । पूजाअर्चनाका लागि जानकी मन्दिर पुगेका शास्त्रीलाई मन्दिरका महन्थ रामतपेश्वर दासले गाई तस्करी रोक्न सुझाव दिएका थिए ।
उनले भने, ‘नेपालमा गौहत्या भइरहेको छैन तर भारतमा ४/४ शंकराचार्य भएर पनि गौहत्या भइरहेको छ । यसलाई रोक्नुपर्छ । मेरो यो सन्देश प्रधानमन्त्री नरेन्द्र मोदीसम्म पुर्याइदिनुस् ।’
प्रवक्ता शास्त्रीले जनकपुरधाम उपमहानगरपालिका–७ स्थित सवरी कुटीमा दलित समुदायका अगुवा नेताका साथै अन्य राजनीतिक दलका नेतासँग पनि भेटघाट गरेका थिए ।