०५ असार २०८३, शुक्रबार

प्रधानन्यायाधीशकै अनुपस्थितिमा गोलाप्रथाबाट पेसी तोक्ने नियमावली पारित

मंसिर ३, २०७८
प्रधानन्यायाधीशकै अनुपस्थितिमा गोलाप्रथाबाट पेसी तोक्ने नियमावली पारित

सर्वोच्च अदालतका १८ जना न्यायाधीश सम्मिलित बैठकले गोलाप्रथाबाट पेसी तोक्ने नियमावली पारित गरेको छ । बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराबाहेकका न्यायाधीशहरूको बैठकले ‘गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिका २०७८’ स्वीकृत गरेको हो ।

सर्वोच्च अदालतको नियमावलीअनुसार प्रधानन्यायाधीशको अध्यक्षतामा फुलकोर्ट बैठक बस्ने प्रावधान भए पनि इजलास बहिष्कार गरेका सर्वोच्चका १८ न्यायाधीशहरूले बैठक बसेर पेसी व्यवस्थापन कार्यविधि पारित गरेका हुन् ।

पेसी तोक्ने नियमावली पारित भएर कार्यान्वयनमा आए न्यायाधीशहरू पनि गोला तानेर मुद्दा हेर्न तयार भएका छन् । न्यायाधीश हरिकृष्ण कार्की संयोजकत्वको समितिले तयार पारेको न्यायपालिकाको विकृति विसंगतिसम्बन्धी प्रतिवेदनको सुझावअनुसार उच्च र जिल्ला अदालतमा यसअघि नै गोलाप्रथामार्फत् पेसी तोक्न निर्देशन दिइसकेको थियो ।

सर्वोच्च अदालत नियमावली २०७४ को नियम १०९ ले प्रधानन्यायाधीश उपस्थित नभएको बैठकलाई त्यस्तो मान्यता दिएको पाइँदैन । नियम १०९ भनिएको छ, ‘मुद्दा मामिलामा इन्साफ दिनुपर्ने कामबाहेक अन्य न्याय प्रशासनसम्बन्धी नीतिगत निर्णय गर्नेसमेतको कार्य गर्न अदालतमा प्रधानन्यायाधीश र अदालतका अन्य न्यायाधीश रहेको एक पूर्ण बैठक रहनेछ ।’

यतिखेर प्रधानन्यायाधीश राणामाथि अदालतभित्रका सहकर्मी न्यायाधीशहरू, नेपाल बार र सर्वोच्च बारबाट राजीनामा दिन दबाब छ । राणालाई राजीनामाको चौतर्फी दबाब आए पनि उनले आफू संवैधानिक प्रक्रियाबाट आएकाले सडकबाट राजीनामा माग्दैमा नदिने सार्वजनिक रूपमा बताइसकेका छन् ।

यता नेपाल बार एसोसिएसनले भने प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने बताइसकेको छ ।

नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ आफूहरूको आन्दोलन जारी रहने बताउँछन् । अहिले न्यायाधीशहरू गोलाप्रथा लागू गरेर मुद्दा सुनुवाइ पूर्णरूपमा गर्ने पक्षमा आफूहरूसँगको आश्वासन दिएको श्रेष्ठले बताए । प्रधानन्यायाधीशको राजीनामा नआएसम्म इजलासमा सबै खाले मुद्दा सुनुवाइ नगर्ने पक्षमा न्यायाधीशहरू रहेको श्रेष्ठको भनाइ छ । नेपाल बारले शुक्रबारसम्म प्रधानन्यायाधीशले राजीनामा दिनुपर्ने अल्टिमेटम राखेको श्रेष्ठले बताए । राजधानी दैनिकमा निराजन पौडेलले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्