
मुलुकका अधिकांश क्षेत्रमा पछिल्लो केही हप्तादेखि अधिकतम तापक्रम औषतभन्दा कम देखिएको छ ।
जल तथा मौसम विज्ञान विभागको अभिलेखानुसार जाडो सुरु हुँदैगर्दा तापक्रम घट्नु स्वभाविक भए पनि पछिल्लो केही हप्ता ३० वर्षको औषत तापक्रमभन्दा कम हुँदा सर्वसाधारणले बढी चिसो महसुस गरेका छन् । एक्कासि चिसो बढ्दा बालबालिका तथा वृद्धवृद्धाको स्वास्थ्यमा असर पुग्नसक्ने हुँदा सावधानी अपनाउन भनिएको छ ।
अक्टोबर तेस्रो हप्तापछि गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाबाहेक अन्य प्रदेशमा अधिकतम तापक्रम सरदरभन्दा कम देखिएको विभागका वरिष्ठ मौसमविद् डा इन्दिरा कँडेलले बताइन् ।
मौसमविद्का अनुसार डिसेम्बर, जनवरी, फेब्रुअरीको तापक्रम हेर्दा यसपालिको हिउँदको समयमा सरदरभन्दा तापक्रम बढी र सुक्खा हुने सम्भावना अधिक छ । यद्यपि अबको जाडोमा तापक्रमको अवस्था कस्तो हुनसक्छ भनेर विभागले अर्काे हप्ता आँकलन सार्वजनिक गर्दैछ । त्यसको आवश्यक तयारी भइरहेको जनाइएको छ ।