२३ असार २०८३, मंगलबार

एमाले महाधिवेशनको प्रचारप्रसार गर्न चितवनमा मोटरसाइकल र्‍याली

एमाले महाधिवेशनको प्रचारप्रसार गर्न चितवनमा मोटरसाइकल र्‍याली

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको प्रचारप्रसारका लागि मंगलवार चितवनमा मोटरसाइकल र्‍याली गरिएको छ । 

युवासंघ नेपाल चितवनको आयोजनामा गरिएको र्‍यालीमा २ हजार बढी मोटरसाइकल सहभागी भएको आयोजकले जनाएको छ ।

जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइलकसहित आएका युवा एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर र्‍यालीमा सहभागी भएका थिए । नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्‍यालीले भरतपुर महानगरपालिकाको विभिन्न भागको परिक्रमा गरेको थियो । 

एमाले महाधिवेशन प्रचारप्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको र्‍याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै पुनः महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा पुगेर समापन भएको थियो ।
 
युवासंघ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी मंसिर १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताए ।

भरतपुरसँगै जिल्लाका अन्य पालिकामा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्‍याली निकालिएको केसीको भनाइ छ ।

नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार मंगलवार नवलपुर, मकवानपुरसहित देशका मुख्य शहरमा युवा संघले मोटरसाइकल र्‍याली निकालेको जनाइएको छ । महाधिवेशन मंसिर १२ गतेसम्म चल्ने छ ।
 

salt training

कमेन्ट गर्नुहोस्