
नेपाली कांग्रेस प्यूठानको सभापतिमा विष्णुकुमार गिरी निर्वाचित भएका छन् ।
मंगलवार भएको निर्वाचनमा शिवराज रिजाललाई ७२ मत अन्तरले पछि पार्दै गिरी सभापतिमा विजयी भएका हुन् । गिरि रामचन्द्र पौडेल निकट नेता हुन् ।
सभापति पदका लागि खसेको १०६९ मतमध्ये गिरीले ५६६ मत ल्याए भने रिजालले ४९४ मत प्राप्त गरेका थिए । रिजालले यसअघिका सभापति अमर भण्डारीसँग पनि प्रतिस्पर्धा गरेका थिए ।
२०५५ सालमा नेविसंघबाट राजनीति शुरू गरेका गिरीलाई जिल्लामा नयाँ पुस्ताका नेताका रूपमा लिने उनका प्रशंसकहरू बताउँछन् ।
नौबहिनी गाउँपालिका अध्यक्ष रिजाल पार्टीको पूर्व सचिव हुन् भने गौमुखी गाउँपालिका अध्यक्ष गिरी निवर्तमान समितिको सचिव थिए । जिल्ला कार्यसमितिका सबै सदस्य र महाधिवेशन प्रतिनिधि सर्वसम्मत रूपमा चयन भएको निर्वाचन समितिले जनाएको छ ।
जसअनुसार जिल्ला उपसभापतिमा देवेन्द्र वर्मा, ईश्वरसिंह विष्ट र सचिवमा टोपाराम कालाथोकी र नरेन्द्र पुन मगर, सहसचिवमा नारायण ज्ञवाली र प्रमोद पोखेल निर्विरोध चयन भएका थिए ।
सभापतिको मतगणना चलिरहेको बेला मंगलवार राति संस्थापन पक्षका केही कार्यकर्ताले मतगणनास्थलमा आक्रमण गरेपछि प्रहरीसँग झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन अश्रुग्यास तथा गोली नै चलाउनुपरेको थियो । घटनामा २ प्रहरीसहित ९ जना घाइते भएका छन् ।