नेपाल बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालयबीच उक्त विश्वविद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीहरुलाई विना धितो रु. १५ लाख सम्मको कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
यो सम्झौता अनुसार नेपाल बैंक लिमिटेडले त्रिभुवन विश्वविद्यालयको सिफारिसको आधारमा त्यहाँ कार्यरत प्राध्यापक तथा कर्मचारीहरुलाई आम्दानीको आधारमा विना धितो सुलभ व्याजदरमा सेवाग्राही कर्जा उपलब्ध गराउने छ ।
बुधवार त्रिभुवन विश्वविद्यालय किर्तिपुरमा आयोजित एक समारोहमा उक्त सम्झौता सम्पन्न भएको छ ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. धर्मकान्त बास्तोला र नेपाल बैक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीको रोहवरमा त्रिभुवन विश्वविद्यालयका तर्फबाट आर्थिक महाशाखा प्रमुख कुमार प्रसाद हुमागाईं र नेपाल बैंक लिमिटेडका तर्फबाट प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
उक्त कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा. डा. शिवलाल भुषाल, रजिष्टार प्रा. डा. पेसल दाहाल, नेपाल बैंक लिमिटेडका रिटेल कर्जा बिभाग प्रमुख निर्मलकृष्ण पाण्डे, मार्केटिङ तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेलका साथै बैंकको कीर्तिपुर शाखाका शाखा प्रबन्धक श्री ज्ञान राज गौतम लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।