
आज मिति २०७८ साल मंसिर महिनाको ९ गते बिहीवार।
बितेको २४ घण्टामा भएका घटनाक्रम र त्यससँग सम्बन्धित समाचार लिएर हामी उपस्थित भएका छौँ ।
आगामी बुधवारदेखि सर्वोच्च अदालतको इतिहासमै पहिलोपटक गोलाप्रथाबाट पेशी तोकिने भएको छ ।
सर्वोच्च अदालतका १८ न्यायाधीशको बुधवार बसेको बैठकले आज (बिहीवार) फुलकोर्ट बैठक बसेर औपचारिक निर्णय गर्ने अनि आगामी बुधवारदेखि गोलाप्रथा प्रणाली कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।
फुलकोर्ट बैठक भोलि दिउँसो १ बजेका लागि तय भएको छ ।
यससँगै आगामी बुधवारदेखि न्यायाधीशहरू सबै प्रकृतिका मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किने भएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने मागसहित न्यायाधीशहरूले गएको कात्तिक ८ गतेदेखि नियमित सुनुवाइ गरेका छैनन् ।
बन्दी प्रत्यक्षीकरण, मुद्दा फिर्ता, तामेलीसहितका सीमित प्रकृतिका मुद्दाको मात्र सुनुवाइ हुँदै आएको छ ।
इजलासमा फर्किए पनि प्रधानन्यायाधीश जबरासँग बेञ्च शेयर नगर्नेमा भने न्यायाधीशहरू एकमत छन् ।
अब अन्य समाचार
कोरिया उड्न लागेका नेपाली श्रमिकलाई ‘होटल प्याकेज’को नाममा रकम असुल्ने होटलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले स्टिङ अपरेसन गरेका छन् ।
उनले बाल्टिक होटलमा कोरिया उड्न लागेका ८३ जना नेपाली नागरिक बसेको र उनीहरूलाई होटल प्याकेजको नाममा बढी दिनको भाडा असुल्न लागेको सूचनाका आधारमा स्टिङ अप्रेसन गरेका हुन् ।
०००
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफैंले छाडेको ब्रम्हास्त्र लागेर सत्तारुढ पाँच दल छट्पटिएको बताएका छन् ।
साइबर सर्कलको घोषणा सभालाई बुधवार सम्बोधन गर्दै उनले सत्ता गठबन्धनले गलत ठाउँमा ब्रम्हास्त्र प्रयोग गरेको बताएका हुन् ।
०००
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले सचिवमा उठ्ने तयारी गरेको बताएका छन् ।
चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेदवार रहने र अहिले नै माथिल्लो पदमा जान नखोजेको बताएका हुन् ।
'लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु,' उनले भने ।
०००
नेकपा एमालेको केन्द्रीय निकाय अनुशासन आयोगका सदस्य अमर गिरीले महाधिवेशन सम्मुखमा पार्टी छाडेको घोषणा गरेका छन् ।
उनले आज एक विज्ञप्ति प्रकाशन गरेर एमाले परित्याग गरेको घोषणा गरेका हुन् । एमालेमा दक्षिणपन्थी, विचलन देखा परेको र त्यसलाई सच्याउने आधार समेत बाँकी नरहेकाले एमालेमा रहिरहन उपयुक्त नभएको गिरीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
एमालेको नवौं महाधिवेशनबाट पारित विचार, नीति, कार्यक्रम र कार्यदिशाविपरीत अध्यक्ष केपी ओलीले दक्षिणपन्थी प्रवृत्तिलाई बढावा दिएको उनले आरोप लगाएका छन् ।
०००
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा पनि ५ दलीय गठबन्धन कायम रहने जिकिर गरेका छन् ।
प्रेस सेन्टर कैलालीद्वारा बुधबार धनगढी एयरपोर्टमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गठबन्धनलाई अझ सुदृढ बनाएर जाने बताएका हुन् ।
०००
काठमाडौंबाट रुकुम (सल्ले) जानुपर्ने जहाज नेपालगञ्जमै अवतरण गराइएको विषयका टीकाटिप्पणी भएपछि वायुसेवा निगमले घटनाको विवरण सार्वजनिक गरेको छ ।
निगमका अनुसार आइतवार बिहान ६ः१५ मा उडान हुने जहाजका लागि कर्मचारीहरूलाई सवा ५ बजे बोलाइएको थियो तर, मौसम प्रतिकूलताका कारण उडान रद्द गरिएको थियो ।
यद्यपि मौसममा क्रमिक सुधार आएपछि दिउँसो सवा २ बजे पुनः उडान भर्ने तयारी गरिएपछि घर फर्किएका यात्रु आएर उडान भर्दा २ः५८ बजेको निगमले जनाएको छ ।
०००
नेपाली कांग्रेस धनकुटाको जिल्ला अधिवेशन दोस्रो पटक पनि स्थगित भएको छ ।
यसअघि एक पटक स्थगित भइसकेको जिल्ला अधिवेशन मंगलवार बोलाइएको थियो ।
सहमहामन्त्रीमा सुनिलबहादुर थापाको गृह जिल्ला रहेको धनकुटामा प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाको पहलमा रोकिएको संस्थापन इतर समूहले आरोप लगाएको छ ।
०००
बुधवार नेपालमा ३ सय ३२ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
९ हजार ९ सय २० जनामा नमूना परिक्षण गर्दा ३३२ जनामा संक्रमण पाइएको बुधवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै ४ संक्रमितको मृत्यु भएको छ ।
०००
नेकपा एमालेको १०औं महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा सहभागी हुन आउने पाहुनालाई फोटो खिच्नका लागि ‘सेल्फी प्वाइन्ट’ निर्माणको काम तीव्र पारिएको छ ।
उद्घाटनस्थलमा २५ स्थानमा सेल्फी प्वाइन्ट निर्माणको काम शुरू गरिएको हो ।
एमाले केन्द्रीय सदस्य विनोद श्रेष्ठका अनुसार चितवनतर्फ २१ र गैंडाकोटतर्फ ४ सेल्फी प्वाइन्ट रहनेछन् ।