
नेकपा एमालेको पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।
चितवनको सौराहामा जारी बन्दशत्रमा निवर्तमान उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
विधान संशोधन पारित भएसँगै एमालेको पदाधिकारी अब १९ सदस्यीय हुने भएको छ । अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, महासचिव, ३ उपमहासचिव र ७ सचिव सहितको पदाधिकारी बन्ने भएको छ ।
यस्तै ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो बनाउने प्रस्ताव पनि पारित भएको छ । केन्द्रीय कमिटीको सदस्य भइसकेको ब्यक्ति मात्रै पोलिटब्युरो सदस्यको उम्मेदवार हुन पाउने विधानको नयाँ व्यवस्थामा उल्लेख छ ।
पोलिटब्युरो केन्द्रीय कमिटी प्रति उत्तरदायी हुनुपर्ने प्रस्ताव छ । विधान पारित भएपछि अध्यक्ष मण्डलका सदस्य इश्वर पोखरेलले सर्वसम्मतिमा नेतृत्व चयनका लागि पदाधिकारीको संख्या बढाइएको बताए ।
केपी ओली, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा, टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, लालवावु पण्डित र गोमा देवकोटा सदस्य रहेको अध्यक्ष मण्डलले बन्दशत्र चलाइरहेको छ । बन्दशत्र अहिले पनि जारी छ ।