०२ असार २०८३, मंगलबार

अदुवा बेचेर आर्थिक अभाव टार्दै सामुदायिक विद्यालय

मंसिर १२, २०७८
अदुवा बेचेर आर्थिक अभाव टार्दै सामुदायिक विद्यालय

विद्यालय चलाउन अदुवाखेती गरेको रोल्पाको एक सामुदायिक विद्यालयले उत्पादित अदुवा बिक्री गर्न थालेको छ ।

रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले विद्यालय परिसरमा उत्पादित अदुवा बिक्री वितरण गर्न थालेको हो ।

‘आर्थिक अभावका कारण विद्यालय सञ्चालनमा समस्या देखिएपछि अघिल्लो वर्ष रोपिएको अदुवो बिक्री वितरण गर्दै हिँडेका छौं,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर वलीले भने ।

उनका अनुसार उत्पादित अदुवामध्ये आधा कोसेलीको रूपमा वितरण र आधा बजारमा बिक्री गरिने जनाइएको छ । 

‘यस वर्ष १० क्विन्टल अदुवा उत्पादन हुने अनुमान गरेका छौं,’ विद्यालयका शिक्षक होमबहादुर खड्काले भने, ‘उत्पादितमध्ये ५ क्वीन्टल निकालिसकेका छौं, अरु निकाल्न बाँकी छ ।’

विद्यालयले उत्पादित अदुवा सदरमुकाम लिवाङमा रहेका शिक्षण संस्था, अन्य सरकारी तथा गैरसरकारी कार्यालय र व्यापारीलाई कोसेलीस्वरूप वितरण गरिरहेको जनाएको छ ।

विद्यालय आफैंले अदुवा उत्पादन गरेको प्रचारप्रसार गर्न र आर्थिक सहयोग संकलन गर्न कोसेलीस्वरूप वितरण गर्दै हिँडेको शिक्षक खड्काको भनाइ छ ।

कोसेली वितरणपछि बचेको अदुवा बजारमा बिक्री वितरण गर्ने योजना बनाएको विद्यालयले स्थायी आयस्रोतको रूपमा अदुवाखेती गरेको जनाएको छ । निजी स्रोतमा काम गर्ने शिक्षकहरूको तलब व्यवस्थापनमा समस्या परेपछि विद्यालयले यस्तो योजना अघि बढाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्