
नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका भीम रावलका समर्थकहरूले प्रचारप्रसार तीव्र बनाएका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारी र केन्द्रीय सदस्यहरूको सूची तयार गरिरहेको समयमा रावलका समर्थकहरूले बिहानैदेखि महाधिवेशनस्थलमा प्रचारप्रसार तीव्र बनाएका हुन् ।
शनिवारको बन्दसत्रले पदाधिकारी र केन्द्रीय सदस्यको सूची बनाउने जिम्मा ओलीलाई दिएको थियो । विधानको व्यवस्था विपरीत एक व्यक्तिलाई नेता छान्ने अधिकार दिइएको भन्दै रावलले बन्दसत्रभित्रै आपत्ति जनाएका थिए । त्यसपछि ओलीले सहमतिको सूचीमा सहमत नहुनेले उम्मेदवारी दिन पाइने बताएका थिए ।
रावल समर्थकले प्रचारप्रसार तीव्र बनाए पनि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका घनश्याम भुसालले भने प्रचार गरेका छैनन् । ओलीले बनाउने सूचीमा घनश्यामले दाबी गरेकै पदमा उनी समावेश हुने सम्भावना रहेको स्रोतले बतायो ।
शुक्रवार शुरू एमालेको दशौं महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आइतवार सम्पन्न हुँदैछ । शनिवारको बन्दसत्रले पदाधिकारीको संख्या थप गर्ने गरी विधान संशोधन गरेको थियो । संशोधित विधानअनुसार एमालेको पदाधिकारी संख्या १९ र केन्द्रीय समिति ३०१ सदस्यीय बन्ने भएको छ ।
ओलीले पदाधिकारीको सूची तयार गर्न समय लागेकोले बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र १२ बजे समयसम्म पनि शुरू हुन सकेको छैन ।
बन्दसत्रमा ओलीले नाम प्रस्ताव गरेपछि सहमत नहुनेले उम्मेदवारी दिन पाउने छन् ।