
महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी, केन्द्रीय सदस्य र निकायका पदाधिकारीको सूची बन्न ढिला हुँदा नेकपा एमाले महाधिवेशनको अन्तिम दिनको बन्दसत्र ढिला भएको छ ।
बिहान १० बजे शुरू हुने भनिएको बन्दसत्र झण्डै तीन घण्टा ढिलो हुँदासमेत शुरू हुन सकेको छैन ।
बन्दसत्रको हलबाट सहमतिको खाका ल्याउने अधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओली सूची बनाउन व्यस्त छन् । मुख्य पदाधिकारीमा सहमति जुटाउन नसक्दा बन्दसत्र शुरू गर्न ढिला भएको हो ।
वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति जुट्न नसक्दा बन्दसत्र ढिला भएको हो । महासचिवमा विष्णु पौडेल कि शंकर पोखरेल भन्ने अझै टुंगो लागेको छैन । वरिष्ठ उपाध्यक्षमा ओलीले ईश्वर पोख्रेलको नाम अगाडि सारे पनि सुवास नेम्वाङले उपाध्यक्षमा मात्र नबस्ने बताएका छन् ।
भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसार गरिरहेकाले महाधिवेशन मतदान प्रक्रियामा जाने सम्भावना पनि छ । अन्य पदमा सर्वसम्मति भए पनि अध्यक्षमा चुनाव हुने सम्भावना छ ।
विद्युतीय मतदान हुने भएकाले मतदानको अवस्था आए पनि छिट्टै मतगणना हुने आयोजकले जनाएका छन् ।
शनिवारको बन्दसत्र ५ घण्टा ढिला शुरू भएको थियो । शुक्रवार शुरू महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आजै समापन गर्ने तयारी छ ।
आज नेतृत्व चयन गर्ने र भोलि सौराहमै घोषणा सभा गर्ने तयारी रहेको एक नेताले जानकारी दिए ।