
पोर्चुगलको फूटबल लीग प्रिमेरा डिभिजनमा बेनफिका र बेलेनेन्सेसबीच शनिवार भएको खेलमा अनेकौं नाटकीयता देखिएका छन् ।
बेलेनेन्सेस जम्मा नौ खेलाडीका साथ ओर्लिएको थियो किनकि अन्य खेलाडीहरू कोभिडको चपेटामा परेका थिए ।
हुँदाहुँदा रिजर्भ गोलकीपरलाई समेत डिफेन्स खेलाडीका रूपमा क्लबले ल्याउनुपरेको थियो ।
उक्त खेल हाफ टाइमको केही मिनेटलगत्तै स्थगित गरिएको थियो ।
क्लबका १३ खेलाडी र चार प्रशिक्षक समूहका सदस्यहरू कोरोना संक्रमणमा परेका छन् ।
यस्तो स्थितिमा पनि खेल खेलाइएपछि बेलेनेन्सेसका कतिपय खेलाडीहरूले सामाजिक सञ्जालमा संयुक्त वक्तव्य निकालेर विरोध गरेका थिए ।
‘फूटबल प्रतिस्पर्धात्मक भएमा मात्र अनि खेल भावनालाई सम्मान गरे मात्र सुन्दर हुन्छ,’ बयानमा लेखिएको छ ।
‘सार्वजनिक स्वास्थ्यका विषयमा उदाहरण प्रस्तुत गरे मात्र फूटबलको मुटु भएको ठहरिन्छ । आज फूटबलले मुटु गुमायो ।’
अप्ठ्यारोमा परेको बेलेनेन्सेसविरुद्ध बेनफिकाले ७ गोल गरेको थियो ।
अति भएपछि बेलेनसेसले तीनजना खेलाडीलाई मैदान बाहिर बोलाएको थियो । ६ जना खेलाडी मात्र मेदानमा रहेपछि बेनफिका विजेता भएको थियो ।
मैदानमा कुनै टीमको सातजना खेलाडी नभएमा अर्को पक्ष विजेता ठहरिन्छ ।