
नेपाली कांग्रेसका नेता गगनकुमार थापाले चितवनमा भइरहेको नेकपा एमालेको महाधिवेशनमा बन्दसत्र नभई ‘ओलीसेशन’ चलिरहेको बताएका छन् ।
आइतवार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमितिको १४ औं जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
नारायणी किनारमा अहिले कोही पनि स्वतन्त्र हुन नसकेको भन्दै नेता थापाले प्रतिस्पर्धाबाट एक्लिएका भीम रावललाई प्रहरीले सुरक्षा दिइरहेको बताए ।
उनले नेकपा एमालेमा अब जनवाद सकिएको र केपी शर्मा ओलीको ‘डनवाद’ शुरू भएको आरोप लगाए ।
‘तत्कालीन प्रधानमन्त्री केपी ओलीको आदर्श पुरुष कम्बोडियाका प्रधानमन्त्री हुन सेन हुन् । हुन सेन पछिल्लो २० औँ वर्षदेखि कम्बोडियाको प्रधानमन्त्री हुनुहुन्छ । कम्बोडियामा प्रजातन्त्र छ, प्रेस पनि छ, अदालत, अख्तियार सबै छ, चुनाव पनि हुन्छ,’ उनले भने, ‘तर हुन सेनको खिलाफमा लेख्ने प्रेस भीम रावललाई लखेटिएको जस्तै लखेटिन्छ । उसको विरुद्ध फैसला गर्ने न्यायाधीशले त्यही दिनबाट अदालत छोडेर जानुपर्छ ।’
नेता थापाले चितवन महाधिवेशनपछि नेतृत्वमा आएको नेकपा एमालेलाई कांग्रेसले तह लगाउने बताए ।