बुटवल, ११ असार —नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाड र तराईबीचको विभाजन गराउने षड्यन्त्र चिर्न स्थानीय तहको निर्वाचनमा एमालेलाई विजयी गराउन मतदातालाई आह्वान गरेका छन् ।

यही असार १४ गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको प्रचार प्रसारका क्रममा आज बुटवलको ट्राफिक चोकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारलाई हठात् परिवर्तन गरेर वर्तमान सत्ता गठबन्धनले प्रदेश नं ५ को तराई र पहाडलाई टुक्राउने गरी संविधान संशोधन प्रस्ताव गरेपनि एमालेको विरोधका कारण स्थगन भएको बताए ।
सम्बोधनको सुरुमै उपमहानगरपालिकाका एमालेका उम्मेदवारहरु प्रमुख शिव सुवेदी र उपप्रमुख गोमा आचार्यलाई माला लगाइँदिँदै उनले भने, “यो विजयको माला हो, अब प्रक्रिया पूरा गर्न मात्र बाँकी छ । यो विजयको माला कसैले फुकाल्न सक्दैन ।”
कार्यक्रममा पूर्व—पश्चिम विद्युतीय रेल निर्माण, ट्रान्समिसन लाइनको विस्तार, चार लेनको मध्यपहाडी राजमार्ग, हरेक प्रदेशमा विश्वविद्यालय, मेडिकल कलेज, अस्पताल र प्राविधिक कलेजका साथै रङ्गशालाको निर्माण एवम् कला साहित्यको विकासका लागि एमालेको विशेष योजना रहेको र यो पार्टी नेपालको विकासका लागि समर्पित छ भने ।
विराटनगर, बुटवल, जनकपुर र वीरगञ्जलाई महानगरपालिका घोषणा गर्न एमालेले आग्रह गरेपनि सरकारले अन्य ठाउँमा चुनाव हार्ने डरले विराटनगरलाई मात्र महानगर घोषणा गरेकोमा आक्रोश व्यक्त गर्दै उहाँले एमालेले निर्वाचन जितेपछि ती बाँकी स्थान पनि महानगर घोषित हुने उद्घोष गरे ।