
नेकपा एमालेको दशौं महाधिवेशनबाट निर्वाचित हुने १९ मध्ये १४ पदाधिकारीमा मतदान हुने भएको छ ।
अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान हुने भएको हो । यस्तै केन्द्रीय सदस्यका लागि पनि विभिन्न क्लस्टरमा मतदान हुने भएको छ ।
बन्दसत्रको अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सूचीमा असन्तुष्टि जनाउँदै केही नेताले उम्मेदवारी दर्ता गराएपछि १४ पदमा मतदान हुने भएको हो । ओलीले प्रस्ताव गरेको केन्द्रीय सदस्यको सूचीबाहेक ३० जनाले मनोनयन दर्ता गराएपछि केन्द्रीय सदस्यमा पनि मतदान हुने भएको छ ।
वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदमा भने सर्वसम्मत भएको छ । अध्यक्षमा केपी ओली र भीम रावलबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै उपाध्यक्षमा ओलीले प्रस्ताव गरेका ६ जना र घनश्याम भुसालबीच प्रतिस्पर्धा हुनेछ ।
ओलीले युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल र रामबहादुर थापालाई उपाध्यक्ष बनाउन प्रस्ताव गरेका थिए ।
ओलीले प्रस्ताव गरेका ७ सचिवमा असन्तुष्टि जनाउँदै भीम आचार्य र टंक कार्कीले उम्मेदवारी दिएपछि सचिवमा पनि मतदान हुने भएको छ ।
सचिवका लागि ओलीले गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, टोपबहादुर रायमाझी, लेखराज भट्ट र पद्मा अर्यालको नाम प्रस्ताव गरेका छन् ।
अध्यक्ष, ६ उपाध्यक्ष र ७ सचिव पदका लागि सोमवार राति मतदान हुनेछ । एमालेले गठन गरेको निर्वाचन आयोगले सोमवार राति ९ बजेदेखि मतदान गर्ने गरी निर्वाचन कार्यक्रम तय गरेको छ । विद्युतीय मेसिनबाट मतदान गर्ने निर्वाचन आयोगको तयारी छ । मतदानका लागि विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ ।
शुक्रवार शुरू भएको एमालेको दशौं महाधिवेशन आइतवार नै सम्पन्न गर्ने पूर्वनिर्धारित कार्यक्रम रहे पनि पदाधिकारी चयनमा सहमति जुट्न नसक्दा लम्बिएको हो ।