२६ जेठ २०८३, मंगलबार

योग र आयुर्वेदबारे प्रशिक्षण, सर्वसाधारणलाई लाभ

मंसिर १४, २०७८
योग र आयुर्वेदबारे प्रशिक्षण, सर्वसाधारणलाई लाभ
प्रतिकात्मक तस्वीर

बागलुङको गलकोट नगरपालिका–७ मल्ममा २ दिनसम्म चलेको जीवनशैली परिवर्तन तथा योग प्रशिक्षणबाट सर्वसाधारणले लाभ उठाएका छन् । 

‘अपनाऔं आयुर्वेदिय जीवनशैली र दैनिक ४८ मिनेट योग, रहौं स्वस्थ, रोकथाम तथा नियन्त्रण हुन्छ रोग’ नारासहित सञ्चालित प्रशिक्षणमा १०० भन्दा बढी सहभागी थिए ।

स्थानीय घुम्टे युवा परिवारसँगको सहकार्यमा धवलागिरि आयुर्वेद औषधालयले आयोजना गरेको प्रशिक्षणमा औषधालयका आयुर्वेद चिकित्सक एवं योग प्रशिक्षक सरोजकुमार रायले योग र ध्यानबारे प्रशिक्षित गरेका थिए ।

रायले योगका विभिन्न आसनको अभ्यास र विधि सिकाएका थिए । सो अवसरमा चिकित्सक रायले शारीरिक र मानसिक दृष्टिबाट मानिस स्वस्थ रहन योग विज्ञान फलदायी रहेको बताए । मन, आत्मा र शरीरलाई योग, ध्यान र साधनाका माध्यमबाट जोड्न सके मात्र मानव जीवन स्वस्थ, खुशी र आनन्दमयी बन्ने उनको भनाइ थियो । 

प्रशिक्षणमा ज्येष्ठ नागरिक बढी सहभागी थिए । सहभागीलाई उच्च रक्तचाप, मधुमेह र बाथरोगमा प्रयोग हुने आयुर्वेदिक औषधिसमेत वितरण गरिएको थियो । पछिल्लो समय खानपान, तनाव, चिन्ता इत्यादि कारणले मानिसमा शारीरिक तथा मानसिक स्वास्थ्यको समस्या बढ्दै गएकाले त्यसको न्यूनीकरणमा टेवा पुगोस् भन्ने उद्देश्यले योग प्रशिक्षण दिइएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले बताए ।

प्रशिक्षण शिविरका लागि संस्थाका पूर्व उपाध्यक्ष एवं नेपाल भलिबल संघ जापानका सदस्य तुलवीर थापाले आर्थिक सहयोग गरेका थिए । योगसँगै आयुर्वेद चिकित्साको महत्त्वबारे सर्वसाधारणलाई बुझाउन प्रशिक्षणलाई अभियानकै रूपमा जिल्लाभर सञ्चालन गर्ने योजना रहेको औषधालय व्यवस्थापन समितिका सदस्य ललिता थापाले बताए ।

प्रशिक्षणका लागि वडा कार्यालयले स्थानीय रूपमा समन्वय गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्