
उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षाको खाँचो रहेको बताएका छन् ।
चन्द्रागिरि नगरपालिका–२ वाडभन्ज्याङस्थित चण्डिकादेवी माध्यमिक विद्यालयमा सोमवारदेखि शुरू भएको श्रीमद्भागवत सप्ताह महायज्ञको उद्घाटन गर्दै उनले मुलुकमा जनमुखी र वैज्ञानिक शिक्षा आवश्यक रहेकाले शैक्षिक प्रणालीमा सुधार गर्नुपर्ने बताए ।
‘शिक्षामा आएका दरार हटाउँदै, समान शिक्षाका लागि आन्दोलन जरुरी छ, शिक्षा क्षेत्रमा विभेद हुनु हुँदैन, पछिल्लो समय सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरसमेत बढेर गएको छ, विद्यालय व्यवस्थापन समिति र विद्यालय मिलेर अगाडि बढे शैक्षिक क्षेत्रको रूपान्तरण सम्भव छ,’ उनले भने ।
सामुदायिक विद्यालयलाई प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने उनको भनाइ थियो ।
विश्व हिन्दू महासंघका केन्द्रीय अध्यक्ष एवं पूर्व मन्त्री रामचन्द्र अधिकारीले सामुदायिक विद्यालयको भौतिक सुधारसँगै प्राविधिक शिक्षाको सञ्चालनका लागि शुरूआत भएको महायज्ञलाई सफल बनाउन स्थानीय सरकारको मुख्य दायित्व रहेको बताए ।
पूर्व सांसद रुपा महर्जन, चन्द्रागिरि नगरपालिका–२ का वडाध्यक्ष गोपी सुर्खेतीले सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका लागि सबैको साथ र सहयोग रहेको उल्लेख गर्दै विद्यालयलाई प्रविधिमैत्री र गुणस्तरीय शैक्षिक वातावरण तयार गर्दै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए ।
महायज्ञ मूल समारोह समितिका संयोजक एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रवण सुवेदीले धार्मिक महायज्ञलाई सामुदायिक विद्यालयको शैक्षिक तथा भौतिक सुधारका रूपमा आयोजना गर्न लागेको बताए ।
सोमवारदेखि शुरू भएको महायज्ञ मंसिर २१ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञमा पण्डित वासुदेव घिमिरेले कथा वाचन गर्नेछन् ।