
बेलायती गुप्तचर संस्था एमआई६ का प्रमुख रिचर्ड मूरले जासूसीको दुनियाँमा चीन र रुसको दबदबा बढ्ने चेतावनी दिएका छन् ।
मूरका अनुसार, चीन र रुसले कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) मा महारथ हासिल गरेका छन् र त्यसले आगामी १० वर्षमा भूराजनीतिक क्रान्ति ल्याउनेछ ।
एमआई६ चीफ बनेपछि मंगलवार पहिलो भाषण दिन लागेका मूरको सम्बोधनका केही अंश पहिले नै सार्वजनिक गरिएको हो ।
मूरले भाषणमा क्वान्टम इन्जिनीयरिङ, इन्जिनीयर्ड बायोलोजी, डेटा उत्पादन र कम्प्युटरमा द्रुत गतिका साथ भइरहेका परिवर्तनबाट आउने खतराको विषयमा चर्चा गर्नेछन् ।
जासूसीको संसारमा अत्याधुनिक प्रविधिको उपयोगमा महारथ हासिल गरेर चीन र रुसले मानवमार्फत गरिने जासूसीलाई बेकामे बनाउँदै लगेको मूरको कथन छ ।
कूटनीतिकर्मी रहिसकेका मूरले विशेषगरी चीनको प्रगति डरलाग्दो भएको बताएका छन् । पश्चिमी देशहरूभन्दा चीनले निकै द्रुत गतिमा विकास गरिरहेको र आगामी दशकहरूमा आर्टिफिसियल इन्टेलिजेन्स तथा क्वान्टम कम्प्युटिङ र जेनेटिक्समा चीन राजा हुने देखिएको छ ।