चीनले एकैसाथ संसारको सबभन्दा ठूलो सशस्त्र बललाई द्रुत गतिमा आधुनिकीकरण गर्ने र दशकौंसम्म निरन्तर आर्थिक वृद्धि हासिल गर्ने दुर्लभ उपलब्धि हासिल गरेको छ । अरू कसैले गर्न नसकेको एसिमेट्रिक (विषम) र परम्परागत सैन्य क्षमतालाई एकैपटक बढाउन चीन सफल भएको छ ।
विगत तीन दशकमा १० लाख सैनिकहरू भएको चिनियाँ जनमुक्ति सेनाले पाँचौं पुस्ताको लडाकू विमान, विमानवाहक युद्धपोत र आणविक पनडुब्बीहरूको जत्थालाई विस्तार गरेको छ । त्यससँगै उसले सूचना, निगरानी र खोजीका साथै कमान्ड कन्ट्रोल कम्युनिकेसन कम्प्युटरलाई समेत एकीकृत गरेको छ ।
चीनसँग अहिले नै संसारको सबभन्दा ठूलो ‘मरिन’ (सामुद्रिक) जत्था छ । उसका तटरक्षक जहाजहरू छिमेकका साना मुलुकका युद्धपोतभन्दा ठूला छन् । चीनले हिन्द–प्रशान्त क्षेत्रमा रणनीतिक अड्डा तथा बन्दरगाहहरूमा आफ्नो सैन्य तथा वाणिज्यिक उपस्थिति पनि विस्तार गरिरहेको छ ।
त्यससँगै चीनले एन्टी–एक्सेस/एरिया डिनायल क्षमता अर्थात् युद्धपोतलाई ध्वस्त पार्ने ब्यालिस्टिक क्षेप्यास्त्रलाई पनि द्रुत गतिमा विकसित गरिरहेको छ । यसले गर्दा एसियामा युद्धका सम्भावित क्षेत्रहरूमा चीन भूगोलको सदुपयोग गर्न सक्ने भएको छ ।
हाइपरसोनिक क्षेप्यास्त्रको विकास गरेर चीनले एसिमेट्रिकका साथै आणविक क्षमतालाई पनि चुस्तदुरुस्त बनाइसकेको छ ।
चीनले यसरी परम्परागत र एसिमेट्रिक क्षमतालाई द्रुत गतिमा बढाउँदा ताइवानलाई बढी असर पर्ने देखिन्छ । ताइवानलाई चीनले आफ्नै एक प्रान्त मान्ने गरेको छ ।
युद्ध नलडिकनै जित्ने चीनको अन्तिम लक्ष्य हो । त्यसका लागि उसले ताइवानको पक्षमा अमेरिकी हस्तक्षेप भएमा त्यसलाई निकै महंगो बनाउने योजना बनाएको छ ।
विख्यात इतिहासकार नियाल फर्गुसन तथा अमेरिकाका पूर्व राष्ट्रिय सुरक्षा उपसल्लाहकार म्याथ्यु पोटिंगरले ताइवानका सन्दर्भमा अमेरिकाले स्वेज क्षणको सामना गर्नुपर्नसक्ने चेतावनी दिएका छन् । सन् १९५६ मा आएको स्वेज संकटका कारण बेलायती र फ्रान्सेली साम्राज्यको अन्त्य भएको थियो । ताइवानमा चीनले निकट भविष्यमा पूर्ण आक्रमण गर्दा अमेरिकाले त्यसलाई रोक्न नसकेमा अमेरिकी साम्राज्य पनि त्यसैगरी ध्वस्त हुनेछ ।
चीन र ताइवानबीचको तनावमा सैन्य तत्त्व विशेषगरी महत्त्वपूर्ण छ किनकि अमेरिकाले जलसैन्य हस्तक्षेप गरेर दोस्रो विश्वयुद्धपछि ताइवानलाई वस्तुगत स्वतन्त्रता कायम गर्न निर्णयक भूमिका खेलेको थियो ।
बेइजिङका लागि ताइवान अमेरिकी प्रभुत्वको सम्झना दिलाउने तथा आफ्नो क्षेत्रमा कमजोर रहेको स्मरण गराउने टापु हो ।
बीसौं शताब्दीको अन्त्यतिर बेलायतबाट हङकङ तथा पोर्चुगलबाट मकाउ चीनले फिर्ता लिएको थियो । अब चीनको लज्जाको शताब्दीलाई सम्झाउने एक मात्र वस्तु ताइवान हो ।
चीनका राष्ट्रपति सी चिनपिङले देशको ‘महान् पुनरुत्थान’का लागि आफ्नो विरासतलाई दाउमा लगाएका छन् । त्यसैले उनी ताइवानलाई चिनियाँ शासनअन्तर्गत पुनरेकीकरण गर्न हिचकिचाउने छैनन् ।
सन् २०१९ को अक्टोबर महिनामा चीनका विज्ञहरूको समूहले अमेरिकी समकक्षीहरूलाई सी ताइवान पुनरेकीकरण गर्नका लागि प्रतिबद्ध रहेको बताएका थिए । आफ्नो कार्यकालभित्र उनले ताइवानलाई बलप्रयोग गरेर भए पनि मिसाउने सोच बनाएका छन् ।
सी सत्तामा कति समयसम्म रहन्छन् भन्ने स्पष्ट छैन किनकि उनले राष्ट्रपतिको निर्धारित दुई कार्यकालको व्यवस्था हटाइसकेका छन् । तर ताइवानका रक्षामन्त्री च्यु क्वो–चङले ताइवानमाथि चीनको आक्रमण केही वर्षभित्र हुने चेतावनी दिएका छन् ।
त्यही दिशामा अघि बढिरहेका सीको शीर्ष प्राथमिकतामा चीनका सशस्त्र बलहरूको आधुनिकीकरण रहेको छ । चीनले रक्षामा गरेको खर्चको सही अनुमान लगाउन बजार विनिमय दर भन्दा पनि पर्चेजिङ पावर प्यारिटीलाई हेर्नुपर्छ । त्यसमा चीनको वास्तविक रक्षा खर्च वार्षिक ५०० अर्ब डलर देखिन आउँछ । त्यो अमेरिकाभन्दा केही कम हो ।
गुणस्तरीय अग्रताको सवालमा अमेरिका अझै पनि चीनभन्दा निकै माथि छ तर चीनले द्रुत गतिमा दूरी घटाइरहेको छ । र्यान्ड कर्पोरेसनले गरेको आधिकारिक अध्ययनअनुसार, चीन र अमेरिकाबीच द्वन्द्व भएमा दुवै पक्षले विशाल सैन्य क्षति बेहोर्नुपर्नेछ । तर सन् २०२५ सम्ममा अमेरिकाले बेहोर्ने क्षति निकै धेरै हुनेछ ।
उता नेसनल डिफेन्स स्ट्राटेजी कमिसनले गरेको एक अध्ययनमा आफ्ना साझेदार, सहयोगी तथा आफ्नै महत्त्वपूर्ण चासोलाई प्रतिरक्षा गर्ने अमेरिकाको क्षमतामा प्रशस्त शंका गर्न सकिन्छ भनी लेखिएको छ । वाशिङटनले चीन वा रुसका विरुद्ध हुने युद्धमा कि त जीतका लागि ठूलै संघर्ष गर्नुपर्नेछ कि त ऊ हार्नेछ ।
अमेरिकाका शीर्ष विज्ञहरूले हिन्द–प्रशान्त क्षेत्रमा चीनलाई अमेरिकाको निकट समकक्षी भनी वर्णन गरेका छन् । त्यहाँ अमेरिकी जलसेनाको ६० प्रतिशत शक्ति समकक्षी जलसेना, स्थलसेना र वायुसेनाविरुद्ध उसैको क्षेत्रमा खटिएको छ ।
चीनको सैन्यशक्तिका विषयमा अमेरिकाको रक्षा मन्त्रालयले तयार पारेको अहिलेसम्मकै विस्तृत प्रतिवेदनमा चीनले स्थल, जल र वायुक्षेत्रमा उपयोग गर्ने हतियारमा आणविक डेलिभरी गर्ने क्षमतालाई विस्तार गरिरहेको चेतावनी दिइएको छ । ताइवानका विषयमा हुने युद्धमा बेइजिङले थप विश्वसनीय सैन्य विकल्प प्राप्त गरेको छ ।
चीनले युद्ध नलडिकन जित्ने रणनीति अपनाएको चेतावनी पेन्टागनका पूर्व शीर्ष अधिकारीले दिएका छन् । चिनियाँहरूले आइपरेमा आणविक हतियार समेत प्रयोग गर्न सकिने विश्वास सबैलाई दिलाएका छन् ।
चीनले आफ्नो हाइपरसोनिक क्षेप्यास्त्र क्षमतालाई त्रुटिरहित बनाउनका लागि प्रयास गरिरहँदा अमेरिका चिन्तित बनेको छ । उक्त हतियारले अमेरिकाको विद्यमान क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई बेकामे बनाइदिन सक्छ र युद्धको स्थितिमा अमेरिकाको सञ्चार प्रणालीलाई पंगु बनाइदिन सक्छ ।
विगत पाँच वर्षमा चीनले सयौंवटा हाइपरसोनिक परीक्षण गरेको छ जबकि अमेरिकाले यस अवधिमा जम्मा नौवटा यस्ता परीक्षण गरेको अमेरिकी वायुसेनाका जनरल जोन हाइटेनले बताएका छन् । उनी जोइन्ट चीफ्स अफ स्टाफका पूर्व उपाध्यक्ष हुन् ।
चीनले आफूअनुकूल प्रक्षेपण गर्न मिल्ने तथा कसैले पत्ता लगाउन नसक्ने हाइपरसोनिक क्षेप्यास्त्रको विकासलाई तीव्रता दिएको छ । यो परम्परागत आणविक शक्तिका साथै युद्धपोत ध्वस्त पार्ने एसिमेट्रिक क्षेप्यास्त्र प्रणाली दुवैमा तैनाथ गर्न सकिन्छ ।
चीनको राज्यसमर्थित एभीआईसी एरोडाइनामिक्स रिसर्च इन्स्टिच्युटले नयाँ विन्ड टनल शुरूआत गर्न खोजेको छ । हाइपरसोनिक भेहिकलबाट हतियारहरू प्रक्षेपणका लागि परीक्षण गर्ने उद्देश्यले त्यसको निर्माण गरिएको हो । यसबाट चीनको हाइपरसोनिक हतियार र उपकरणको अनुसन्धान र विकासलाई थप गति दिनेछ ।
अहिलेको भन्दा दुईगुणा ठूलो विन्ड टनल विगत दुई वर्षदेखि निर्माण गरिँदैछ र त्यसले ध्वनिको गतिभन्दा आठ गुणा बढी गतिका अवस्थालाई अनुकरण गर्नेछ ।
पेन्टागनका अनुसार, चीनले अगस्ट महिनामा गरेको पछिल्लो हाइपरसोनिक क्षेप्यास्त्र परीक्षणले अमेरिकाको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई बेकामे बनाइदिन सक्छ ।
चीनले आगामी एक दशकमा आणविक वारहेडको भण्डारलाई दोब्बरभन्दा बढी बनाउने अपेक्षा छ । उससँग अहिल्यै आणविक क्षमता भएका सयौं ब्यालिस्टिक क्षेप्यास्त्रहरू छन् र तिनीहरू हाइपरसोनिक ग्लाइड भेहिकलभन्दा पनि द्रुत गतिमा उड्न सक्छन् ।
क्षेप्यास्त्र प्रणालीमा महारथ हासिल गरिरहेको चीनले युद्धपोत ध्वस्त पार्ने मध्यम दूरीको क्षेप्यास्त्र व्यापक संख्यामा तैनाथ गरिरहेको छ । त्यसमा अत्याधुनिक डीएफ–१६ र लामो दूरीको डीएफ–२१सी क्षेप्यास्त्र पनि छन् र तिनलाई पूर्वी तटक्षेत्रहरूमा राखिएको छ । जापान र पश्चिमी प्रशान्तका ठूला भागलाई त्यसले आफ्नो दायरामा पार्नेछ ।
चीनले अमेरिकाको पाँचौं पुस्ताको एफ–३५ लडाकू विमानको प्रतिरूप बनाएर सिन्च्याङमा रहेको चिनियाँ जनमुक्ति सेनाको रकेट फोर्सको कोर्ला शूटिङ रेन्जमा अभ्यास गरेको थियो । त्यसअघि चीनले अमेरिकाको पुरानो यूएस एफ–१५ ईगल फाइटर जेटको प्रतिरूप बनाएर अभ्यास गर्ने गरेको थियो । आफ्ना शत्रुहरूको अत्याधुनिक सैन्य उपकरणलाई प्रतिकार गर्न चीनको आत्मविश्वास बढेको यसबाट देखिन्छ ।
चीनले ताइवानमाथि आक्रमण गरेको खण्डमा अमेरिका र जापान मिलेर हस्तक्षेप गर्ने स्थिति नआओस् भनी यी नयाँ अभ्यास र तैनाथीहरू गरेको विश्वास विज्ञहरूले लिएका छन् ।
‘एयरबेस र धावनमार्गमा रहेका विमानहरूलाई क्लस्टर म्युनिसन प्रहार गरेर ध्वस्त पार्ने तालिम सेनाले गरिरहेको छ,’ चिनियाँ सेनाको भित्री कुरा थाहा पाउने एक व्यक्तिले साउथ चाइना मर्निङ पोस्टलाई बताए ।
‘कारवाही चलाउनु नभई ताइवानको विषयमा विदेशी शक्तिहरूको हस्तक्षेपलाई निवारण गर्नु यस तालिमको प्रमुख उद्देश्य हो,’ उनले थपे । चीनको सैन्य योजनामा ताइवान संकट केन्द्रमा रहेकोमा उनले जोड दिए ।
चीनले हतियार क्षमता द्रुत गतिमा बढाइरहेको प्रतिक्रियास्वरूप बाइडन प्रशासनले देशको क्षेप्यास्त्र प्रतिरक्षा नीतिलाई सन् २०२२ को आरम्भमा अद्यावधिक गर्ने कार्यक्रम छ । उसको नयाँ राष्ट्रिय सुरक्षा नीतिअन्तर्गत यो अद्यावधिक गर्न लागिएको हो ।
हाइपरसोनिक ग्लाइड भेहिकलहरूका विरुद्ध नयाँ क्षेप्यास्त्र प्रतिरक्षा प्रोटोटाइपहरू विकसित गर्नका लागि पेन्टागनको मिसाइल डिफेन्स एजेन्सीले प्रमुख हतियार उत्पादकहरू रेथ्योन टेक्नोलोजीज कोर्प, लकहीड मार्टिन कोर्प र नरथ्रोप ग्रुमान कोर्पसँग सम्झौताको अनुमति दिएको छ ।
एकीकृत निवारण रणनीतिअन्तर्गत बाइडन प्रशासनले हिन्द–प्रशान्त साझेदारहरूसँग मिलेर क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीको विस्तारलाई जाँच्ने सम्भावना पनि छ ।
एसिया टाइम्समा प्रकाशित रिचर्ड जवाद हैदरियनको विश्लेषणलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।