
काठमाडौं, १२ असार — आइतवार राति १२ बजेदेखि मौन अवधि शुरू भएको छ । दोस्रो चरणको स्थानीय निर्वाचनका लागि आइतवार १२ बजेदेखि मौन अवधि तोकिएको छ ।
मौन अवधिमा कुनैपनि चुनावी प्रचार प्रसार गर्न नपाउने गरि निर्वाचन आयोगले आचार संहिता बनाएको छ । उम्मेदवारहरुले सो आचारसंहिता पालना गर्नुपर्दछ । मौन अवधिमा चुनावी प्रचार गरेमा आयोगले उम्मेदवारहरुलाई कारबाही गर्न सक्छ भने उम्मेदवारी पनि रद्द हुन सक्ने प्राबधान रहेको छ ।
तर नेपालका रहेक निर्वाचनमा मौन अवधिको ४८ मा भोट प्रभावित गर्ने थुप्रै चलखेलहरू हुने बताइन्छ । मौन अवधिको समयमा मतदातालाई पैसा समेत बाँड्ने गतिविधि हुने गरेका छन् । तर यस्ता प्रकारका गतिविधिहरू निर्वाचन आचार संहिता विपरित मानिन्छ ।
अब मतदान नहुँदा सम्म मौन अवधि कायम रहन्छ । मौन अवधिमा प्रचार प्रसार गर्न र भोट माग्न समेत पाइँदैन ।
मौन अवधि सुरु हुनुभन्दा अघि नै मदतदान केन्द्रको ३०० मिटर वरपर रहेका चुनावी प्रचार सामग्री हटाउनुपर्ने प्रावधान रहेको छ । मौन अवधिमा उम्मेदवारले आफ्नो प्रचार हुने गरेर अप्रत्यक्ष रुपमा निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु समेत प्रयोग गर्न पाईंदैन ।
संचार माध्यमले कुनैपनि दलको प्रचार हुने गरेर कुनैपनि समाचारहरु समेत प्रशारण वा प्रकाशन गर्न पाइँदैन ।
मौन अवधिमा आचार संहिता उल्लंघन गरेको प्रमाणित भएमा उम्मेदवारी रद्द हुनेदेखि लिएर एक लाख सम्म जरिवाना समेत हुन सक्ने प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बताए ।
उम्मेदवारी रद्द गर्नुभन्दा पहिले उम्मेदवारलाई सफाईको उचित मौका दिने व्यवस्था रहेको छ । आचार संहिता उल्लंघन भएमा निर्वाचन आयोगले पहिलो चरणमा सचेत गराउने काम गर्छ ।
त्यसपछि पनि आचार संहिता उल्लंघन भएमा चाहिँ जरिवाना वा उम्मेदवारी रद्द सम्मको कारबाही गर्न सक्ने व्यवस्था रहेको छ ।
निर्वाचन आयोगले मतदान गरेपछि मतदान केन्द्र नबस्नको लागि मतदातालाई अनुरोध समेत गरेको छ । साथै आयोगले कसलाई मत दिएको भनेर समेत कसैलाई नभन्न अनुरोध गरेको छ ।