
डडेल्धुरा, १२ असार– प्रधानमन्त्री शेरबहादुर देउवा अहिले गृहजिल्ला डडेल्धुरामा छन् । कांग्रेस सभापति समेत रहेका देउवा उम्मेदवार छनौटको विषयलाई लिएर गृहजिल्लामा आफ्नै पार्टीभित्र उब्जिएको विवाद मिलाउन सक्रिय छन् ।
सोमबार विहान प्रधानमन्त्रीले डडेल्धुरा सदरमुकाममा रहेको स्याउबारी होटेलमा पत्रकार सम्मेलन आयोजना गरेका छन् । तर पत्रकार सम्मेलनमा नेपाली कांग्रेस समर्थित पत्रकारहरु मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको अन्य पत्रकारले बताएका छन् ।
प्रधानमन्त्रीले जिल्ला जाँदा सामान्यतया पत्रकार महासंघको ब्यानरमा पत्रकार सम्मेलन गर्ने गरिन्छ । तर गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री देउवाले भने कांग्रेस समर्थित पत्रकारको संगठन प्रेस युनियन बाहेक अन्य संगठनसँग आवद्ध पत्रकारलाई आफ्नो पत्रकार सम्मेलनमा बोलाएका छैनन् ।
पत्रकार सम्मेलनमा कांग्रेस समर्थित बाहेक अन्य पत्रकारलाई नबोलाइएको नेपाल पत्रकार महासंघ डडेल्धुराका एक सदस्यले बताए । उनका अनुसार प्रेस युनियनको परिचय पत्र हेरेर प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा जाने व्यवस्था गरिएको छ ।
यस्तै प्रधानमन्त्रीको पत्रकार सम्मेलनमा सहभागी हुन प्रेस युनियनका जिल्लास्थित पदाधिकारीको सिफारिस लिनुपर्ने प्रावधान गरिएको उनले बताए । ‘पत्रकार सम्मेलन छ भन्ने सूचना पाएका छौं । तर हामीलाई बोलाइएको छैन,’ उनले भने, ‘प्रेस युनियनका सदस्यले मात्रै जान पाउने भएकाले हामी नगाएका हौं ।’