१६ असार २०८३, मंगलबार

बुटवल–नारायणघाट सडकमा दुई वर्ष म्याद थप्न माग

मंसिर १६, २०७८
बुटवल–नारायणघाट सडकमा दुई वर्ष म्याद थप्न माग

पूर्व पश्चिम महेन्द्र राजमार्गको मध्ये भाग बुटवल–नारायणघाट सडक खण्ड तोकिएको समयमै नसकिने निश्चित छ । अनेकौं व्यवधान झेल्नुपरेको भन्दै निर्माण कम्पनीले म्याद थप गर्न माग गरेको छ । आवश्यक प्रक्रिया पूरा गरेर म्याद थपका लागि निवेदन दिएको छ ।

कोरोना कहर तथा लकडाउन, लगातारको वर्षात् सँगै साइट क्लिरियरमा ढिलाई हुँदा निर्माण कार्य प्रभावित भएको र कामको लोड पनि थपिएको भन्दै निर्माण कम्पनीले दुई वर्ष म्याद थप्न माग गरेको छ । 

दाउन्ने–पश्चिमको सडक विस्तारको काम हेर्दै आएका इन्जिनियर प्रदीपराज शाक्यले यो खण्डमा हालसम्म करिब ११ प्रतिशत मात्रै काम भएको र अहिले केही दिनदेखि नियमित विस्तारको काम चलिरहेको बताए । यहाँ दैनिक ५०० जना कामदारले काम गरिरहेको, साइट क्लिरियर गर्ने काम भइरहेको छ ।

यद्यपि तोकिएको समयमा यो पूरा हुने अवस्था नरहेको उनको भनाइ छ । तर, म्याद कति थप्ने, कसरी थप्ने भन्ने विषयमा भने अवस्थाको अध्ययन भइरहेको इन्जिनियर शाक्यको भनाइ छ । निर्माण कम्पनीसँग २०२२ अगष्टसम्म काम सक्नेगरी ठेक्का सम्झौता भएको थियो । अहिले दुई वर्ष थप गरेर आगामी २०२४ अगष्ट २४ तारिखसम्मको म्याद थप गर्न माग गर्दै निवेदन आएको आयोजनाले जनाएको छ । 

निर्माण कम्पनीले मागेको ‘२०२४ अगस्टसम्मको म्याद थप गर्न माग भएको छ । यो जायज हो कि होइन भनेर मूल्यांकन भइरहेको छ । कन्सलटेन्टले यसका बारेमा अवस्था के हो त्यो बुझ्न विज्ञहरुको टोली र कन्सलटेन्टले अध्ययन गरिरहेको छ ।’ इन्जिनियर शाक्यले बताए । 

लकडाउनका कारणले काम प्रभावित भएको र त्यसअघि रुख कटानको स्वीकृति र विद्युत्का पोल सार्ने काम नभएकाले काम प्रभावित भएको थियो । यी सबै काम अहिले विस्तारै चलिरहेका छन् । विद्युत् प्राधिकरणले पोल नसारिदिएपछि अहिले निर्माण व्यवसायीले नै पोल सारिरहेको छ । दाउन्नेलगायतका केही ठाउँमा रुख कटान चलिरहेको छ । 

निर्माण कम्पनीले ठाउँठाउँमा सडक भाँसिएको, घोडाहा र तुरिया खोलाको पुल भाँचिएका कारणले पनि ढिलाई भएको बताउँदै आएको छ । सम्झौता भएको भन्दा अतिरिक्त भार परेको भन्दै म्याद थपको माग गरेको निर्माण कम्पनीले जनाएको छ । 

नारायणगढ–बुटवल सडक आयोजनाअन्तर्गत खण्ड ‘क’ का योजना प्रमुख रमेश दृष्टिले निर्माण कार्य जारी नै रहेपनि सन्तोषजनक प्रगति भने नदेखिएको बताए । नवलपुर खण्डमा करिब तीन प्रतिशत मात्रै भौतिक प्रगति भएको उनले जानकारी दिए । यो खण्डमा पनि रूख कटानमा स्वीकृति नपाउँदा र विद्युत् पोल सार्न ढिलाई भएका कारणले सडक विस्तारको काम प्रभावित भएको हो । 

उत्तरतर्फको रूख कटानमा अनुमति पाएर धेरै रूख काटिएको भए पनि दक्षिणतर्फ चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्ने भएकाले रूख कटानमा समस्या आएको थियो । मन्त्रिपरिषद्ले रूख कटानको स्वीकृति दिएसँगै दक्षिणतर्फको रूखसमेत काट्न भएको छ ।

आर्थिक केन्द्र बुटवल र पर्यटकीय केन्द्र नारायणघाटलाई फास्टट्रयाक सडकले जोड्नेगरी यो सडक विस्तार आयोजना सुरु भएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री भएका बेलामा २०७५ चैत ८ गते बुटवलको राजमार्ग चौराहामा सडक विस्तारको कामको शिलान्यास भएको थियो । 

यो सडक आयोजनालाई दुई खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको थियो । कुल ११३ किलोमिटर सडकमध्ये नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटदेखि दाउन्नेसम्म ६४ दशमलव ४२ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको बाँकी सडकलाई खण्ड ‘ख’ अर्थात् दाउन्ने पश्चिम मानेर दुवै खण्ड निर्माणको जिम्मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले पाएको छ । 

सो सडक चार लेनमा विस्तार हुनेछ भने शहरी क्षेत्रमा अतिरिक्त सर्भिस लेनसमेत निर्माण हुने बताइएको छ । यस सडकको अधिकांश भाग वन क्षेत्रमा पर्ने भएकाले मध्यवर्ती क्षेत्रमा वन्यजन्तुमैत्री पुलसमेत निर्माण हुने गरी ठेक्का सम्झौता भएको थियो । साइड क्लिरियर भएपछि विस्तारको काम तीव्र हुने निर्माण कम्पनीको प्रतिवद्धता छ । 
 

salt training

कमेन्ट गर्नुहोस्