०९ असार २०८३, मंगलबार

एमाले महाधिवेशनमा चितवनका दृश्य– खाना नपाएर भौंतारिएका पत्रकारदेखि सुकुटीको व्यापारसम्म

मंसिर १६, २०७८
एमाले महाधिवेशनमा चितवनका दृश्य– खाना नपाएर भौंतारिएका पत्रकारदेखि सुकुटीको व्यापारसम्म

नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनका कारण मंसिर १० देखि १४ गतेसम्म चितवन पूरापूर व्यस्त रह्यो ।

सुन्तलादेखि सुकुटीको व्यापार मात्र मौलाएन, सौराहाका होटल व्यवसायीलाई पाहुनालाई कोठा पुर्‍याउन र कतिपय अवस्थामा खाना खुवाउन पनि हम्मेहम्मे पर्‍यो ।

औपचारिक रूपमा १० गतेदेखि शुरू भए पनि भीडभाड ८ गतेदेखि नै शुरू भएको थियो । महाधिवेशन शुरू भएको पहिलो दिन नारायणी नदी किनारमा सुन्तला, बदाम, पानीदेखि खानासम्मको राम्रो व्यापार भयो ।

महाधिवेशनमा नारायणी नदी किनार र बजार क्षेत्रमा १०० भन्दा धेरै सुन्तला व्यापारीले रिक्सामा भरिभराउ सुन्तला ल्याएका थिए । साँझसम्म सबै बिक्री भइसकेका देखिन्थे । नारायणगढमा व्यापार गर्दै आएका गोरखाका हिरा पन्तले एकैदिन २०० किलोग्राम सुन्तला बिक्री गरेको बताए । 

‘मैले त ६–७ क्यारेट मात्रै जाला भनेर त्यत्ति ल्याएँ तर त्यो त २ बजेसम्ममै सकिएर फेरि साथीसँग मागेर ४ क्यारेट मागेर बेचें,’ उनले त्यो दिन लोकान्तरसँगको कुराकानीमा भने, ‘२०० केजीभन्दा धेरै बिक्री भयो, कति भयो भरे गएर हिसाब गर्नुपर्छ ।’

अन्य समयमा मुस्किलले २० किलोग्राम सुन्तला बेच्दै आएको उनले बताए । १०० रुपैयाँ प्रतिकिलोका दरले सुन्तला बेचिरहेका थिए उनी । उनले ८–१० हजार रुपैयाँसम्मको व्यापार भएको बताए ।

उनीजस्तै महाधिवेशन उद्घाटनको अघिल्लो दिन अर्थात ९ गते नारायणी किनारमा चितवनकी संगीताले मकै पोलेर बेचिरहेकी थिइन् । दिउँसो एक्लै मकै पालेर नभ्याएपछि उनले छोरीलाई बोलाएर मकै थप गरेर बेचेको लोकान्तरलाई बताइन् ।

‘२ बजेपछि त भ्याइनभ्याइ भएकाले छोरी बोलाएँ,’ संगीताले भनिन्, ‘१ बोरा त बेचिसकें, अझै १ बोरा बिक्री हुन्छ कि !’

उनले प्रतिघोगा ३० रुपैयाँका दर बेचिरहेकी थिइन् । अन्य समयमा २ दिनमा १ बोरा बिक्री हुने गरेको उनले बताइन् । 

संगिता र हिरा जस्तै सुन्तला र मकै बिक्री गर्ने धेरै थिए । महाधिवेशन उद्घाटनको दिन खाने पानी पनि अत्यधिक बिक्री भयो । महाधिवेशनका स्वयंसेवकले १ घण्टा लगाएर फालिएका खानेपानीका खाली बोत्तल सफा गरेका थिए ।

महाधिवेशनको बन्दसत्रको दिन अर्थात ११ गते सौराहामा व्यापारको रौनक त्यति नै थियो । सौराहाको राप्ती किनारामा कुखुराको सुकुटी खानेको लाइन नै थियो भने होटलहरू खचाखच थिए । मंसिर ११ गते साँझदेखि बिहान २ बजेसम्म सौराहा निदाएको थिएन ।

‘३ दिनलाई भनेर किनेर ल्याएको कुखुराको मासु आज नै सकियो, भोलि कता खोज्ने भन्ने तनाव भो,’ सौराहा राप्ती किनारका एक व्यापारी आफ्ना कर्मचारीलाई भन्दै थिए । 

उनले त्यो दिन ५२ किलो मासु बिक्री गरेको सुनाए । ‘सर बिहानबाट ५२ किलो मासुको सुकुटी बेचें, अहिले सकेर बन्द गरेको,’ उनले लोकान्तरसँगको कुराकानीमा भने, ‘अहिलेसम्म साढे ५ लाख रुपैयाँको व्यापार भो ।’

भात खान नपाएर भौँतारिए पत्रकार !

मंसिर ११ गते बिहान एक जना पत्रकारले गुनासो सुनाए, ‘राति भात खान नपाएर बाहिर भौतारिएर हिँड्नुपर्‍यो, बल्लबल्ल अर्को होटलमा खाना पकाउन लगाएर खाएँ ।’

उनले भने, ‘मंसिर १० गते साँझ साढे १० बजेतिर एमाले केन्द्रीय कमिटी बैठकको रिपोर्टिङ सकेर सुत्ने होटल फर्किएँ । होटल साहुलाई खाना खानुपर्‍यो भन्दा ‘सर माफ गर्नुहोला, तपाईंले पहिले भन्नुभएन, ल्याएको चामल सकियो, राति कहाँ जानु’ भनेर जवाफ दिए । पछि सौराहामा भौतारिएर राति १२ बजे मात्र एउटा होटलमा पत्रकार हुँ भनेर भात पकाउन लगाएर खाएँ । पत्रकार नभनेको भए राति भोकै सुत्नुपर्ने रहेछ । अन्य मानिसको अवस्था के होला?’

हजारको कोठालाई ३ हजार !

सौराहामा पहिले नै बूक नगराएकाहरूले कोठा पाउन गाह्रो थियो । पाए पनि ३ गुण महंगो ! अन्य समयमा सामान्यतया १ हजार रुपैयाँमा पाइने कोठालाई ३ हजार रुपैयाँसम्म तिर्नुपर्ने अवस्था थियो ।

‘दिउँसो २ बजेदेखि आएर कोठा खोजें, पाउने कुनै सम्भावना नै छैन । सामान्य कोठालाई ३ हजारभन्दा रहेछन्, त्यो पनि शेयर गरेर बस्नुपर्ने,’ बुटवलबाट आएका एक जना एमाले कार्यकर्ताले भने, ‘के गर्नु ? त्यो पनि तिर्नैपर्‍यो ।’

उनीजस्तै धेरै मानिसको गुनासो थियो, सौराहामा सबै चिज महंगो भयो । होटल अवानाका सञ्चालक सुजित श्रेष्ठले पनि अन्य समयमा २ हजारमा दिँदै आएका कोठाहरू ३ हजार रुपैयाँसम्ममा दिएको बताए ।

‘यहीबेला त हो नि ! अन्य समयमा मानिसहरू आउँदैनन् । त्यसमाथि कोठा पाउनै मुस्किल छ,’ उनले भने, ‘अरुले त हजारको नै ३ हजारमा दिएका छन् रे !’

ज्वारी कोट किन्ने नेताको भीड

एमालेको बन्दसत्रस्थल वरिपरि एउटा छुट्टै भीड थियो । त्यो थियो ज्वारी कोट किन्नेको भीड । ज्वारी कोट नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यदेखि सामान्य कार्यकर्तासम्मले किनिरहेका थिए । 

उपाध्यक्ष शाक्यले कोट किन्न प्रोत्साहित गर्दै भनिरहेकी थिइन्, ‘राम्रो रहेछ कमरेडहरू, यहाँहरूले पनि किन्नु भए हुन्छ ।’ १ हजार रुपैयाँमा अल्लोको ज्वारी कोट बिक्री भइरहेको थियो ।

महाधिवेशन स्थलमा अखिल महिला संघले सेलरोटी बिक्री गरिरहेको थियो भने एमालेका विभिन्न भातृ संगठनले हस्तकलाका सामग्री र किताबहरू बेचिरहेका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्