फागुन २६, २०८०
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
मंसिर १६, २०७८
नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंगलबार सम्पन्न भएको छ । नेपालको सबैभन्दा ठूलो राजनीतिक दलको महाधिवेशनको चौतर्फी चासो र चर्चा थियो ।
महाधिवेशन समापनपछि पनि यसको चर्चा सेलाएको छैन । विभिन्न कोणबाट समीक्षा भइरहेका छन् ।
एकताको महाधिवेशनको नाम दिइएको एमालेको दशौं राष्ट्रिय महाधिवेशन एकता कायम गर्न कति सफल भयो या भएन समीक्षाकै विषय छ ।
तर, उक्त महाधिवेशनको बन्दसत्रमा तनाव, द्वेष, रौनक र रूवाबासी एकैपटक देखियो । मंसिर १० गते नारायण नदी तटमा भव्यताका साथ महाधिवेशन उद्घाटन भयो ।
एमालेको जीवनमा ऐतिहासिक पनि बन्यो त्यो उद्घाटन समारोह । ११ गते विहान १० बजेबाट बन्दसत्र शुरू हुने भनिएको थियो । बन्दसत्र हल झकिझकाउ थियो । प्रतिनिधिहरू उत्साहका साथ हलमा प्रवेश गरेका थिए । तीन स्टेपमा स्क्रिनिङ गरेर हलसम्म पुग्ने व्यवस्था मिलाइएको थियो ।
प्रतिनिधिहरू बस्नका लागि उनीहरूको प्रतिनिधित्व अनुसार कुर्सीको व्यवस्थापन गरिएको थियो । तर, प्रतिनिधिहरू तोकिएको कुर्सीमा नबसेको भन्दै सबैलाई बाहिर निकालियो र फेरि लाइन लगाएर भित्र छिराइयो । यसो गर्दासम्म दिउँसोको ३ बजिसकेको थियो ।
बन्दसत्रको शुरूमा विदेशी अतिथिहरूले सम्बोधन गरे । त्यसलगत्तै बन्दसत्रलाई अध्यक्षको हैसियतले पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गरे ।
करीब दुई घण्टा निरन्तर बोलेका ओलीले कहिले प्रतिनिधिमा ऊर्जा भर्ने कोशिश गर्थे भने कहिलेचाहिँ भावुक कुरा गरेर मन पगाल्ने प्रयास गर्थे ।
सम्बोधनका क्रममा उनले भनेका थिए, ‘म कति बाँच्छु थाहा छैन । धेरै अप्रेशनबाट गुज्रिएको छु । मानिसहरूको जिन्दगी त टुंगो हुँदैन, म त मरेर बाँचेको हुँ । जब म तपाईंहरूलाई मेरो अगाडि देख्छु, देशको भविष्य सुरक्षित लाग्छ । आन्दोलन, पार्टी, लोकतन्त्रको भविष्य सुरक्षित देख्छु ।’
पहिलो दिनको बन्दसत्रले पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउने गरी विधान संशोधन प्रस्ताव पारित गर्यो । संगठन विभाग प्रमुख विष्णु पौडेलले विशेष प्रस्ताव राख्दै केन्द्रीय कमिटी घोषणा गर्ने अधिकार अध्यक्षलाई दिनुपर्ने प्रस्ताव राखे । हलले उनको प्रस्ताव परिमार्जनसहित अनुमोदन गर्यो ।
बन्दसत्रको पहिलो दिन नै ओली र अर्का नेता भीम रावलको जुहारी चल्यो । रावलले विधि र पद्धतिको कुरा गरे । विधानविपरीत अध्यक्षले केन्द्रीय सदस्य घोषणा गर्ने तयारीको विरोध गरे । ओलीले पनि रावललाई केका लागि चुनाव लड्न लागेको भन्दै विचार गर्न आग्रह गरे ।
पहिलो दिनको बन्दसत्र साँझ ८ बजे आसपासमा सम्पन्न भयो । मंसिर १२ गते बिहान १० बजेसम्मका लागि बन्दसत्र स्थगित गरेर ओली उठे ।
एमाले महाधिवेशन प्रतिनिधिका लागि सबैभन्दा तनावपूर्ण दिन मंसिर १२ गते भयो । सौराहाको पार्क सफारी होटलमा बसेका ओलीले त्यही होटललाई पावर सेन्टर बनाए ।
सोही होटलमा तत्कालीन महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल लगायतका नेताको पनि बसोबास थियो ।
बन्दसत्रबाट सर्वाधिकार लिएका ओली बिहानैदेखि सर्वसम्मतिको सूची बनाउन व्यस्त भए ।
ओलीको आकांक्षा बुझेका नेताहरू विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरूङले उनलाई साथ दिए ।
केन्द्रीय सदस्य र पदाधिकारीका आकांक्षीहरू पालैपालो अध्यक्ष ओलीलाई भेट्न पार्क सफारी पुग्थे र बाहिरिन्थे । पत्रकारहरू उनीहरूलाई नै पछ्याउँथे । हेडलाइन जुराउँथे र समाचार पठाउँथे ।
प्रतिनिधिहरू बिहानैदेखि बन्दसत्र हलमा गएर बसेका थिए । बन्दसत्र कतिबेला शुरू हुने कुनै टुंगो थिएन । नेताहरू आउने बाटो हेर्थे र लोलाउँथे ।
प्रतिनिधिलाई अलपत्र पारेको भन्दै कतिपय आक्रोशित पनि देखिए । यही क्रम दिनभर चल्यो ।
साँझ ७ बजे अध्यक्ष मण्डलको बैठक बोलाइयो । तर, अध्यक्ष मण्डलको बैठक शुरू हुँदा रातिको १० बज्यो ।
अध्यक्ष मण्डलको बैठक चलिरहँदा निर्वाचन आयोगले निर्वाचनको कार्यक्रम प्रकाशित गर्यो । प्रतिनिधिहरू अब निर्वाचन हुने भयो भन्दै उम्मेदवारी दर्ता गर्न दौडिए । निर्वाचन आयोगको कार्यलयमा थामिनसक्नु भीड लाग्यो ।
त्यही बेला नेता घनश्याम भुसाल निर्वाचन आयोगको कार्यालयमा आए र आयोगका पदाधिकारीसँग जंगिए । ‘अध्यक्ष मण्डलको बैठक बसिरहेको छ । मध्यरातमा के गाइजात्रा गरेको यो ?’, भुसालले भने ।
केहीबेरमा निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले सूचना जारी गरेर उम्मेदवारी मनोनयन भोलिपल्ट बिहान ९ बजेसम्मका लागि स्थगित भएको बताए ।
राति साढे १२ बजे अध्यक्ष मण्डलको बैठक सकेर पौने एक बजे ओली बन्दसत्रको हलमा प्रवेश गरे ।
तनावपूर्ण तीन घण्टा
मध्यरात कटेपछि दोस्रो दिनको बन्दसत्र शुरू गरेर ओलीले सहमतिको सूची भन्दै उनले एमालेको केन्द्रीय सदस्यको नाम वाचन गर्न थाले ।
३०१ जना केन्द्रीय सदस्य र अनुशासन तथा लेखा आयोगका गरी थप ५० सदस्यको नाम ओलीले बन्दसत्रलाई सुनाए ।
उनले प्रस्तुत गरेको सूचीमा कतिपय केन्द्रीय सदस्यको नाम दोहोरियो । केन्द्रीय सदस्यमा नसमेटिएका प्रतिनिधिहरू आक्रोशित भए, कतिपयको मुहारबाट कान्ति हरायो ।
बाहिर चिसो सिरेटो चलेको थियो । बन्दसत्रका लागि बनाइएको टेन्टको हलभित्रै तपतप शीत चुहिएको थियो । बिहानको भाले बासिसक्दा पनि एमालेजनहरू अनिदो थिए ।
ओलीले वाचन गरेको सूचीमा आफ्नो नाम नपरेपछि व्यवसायी दुर्गा प्रसाइँ जंगिदै बाहिर निस्किए । उनी भन्दै थिए, ‘यस्तै हुन्छ भनेर निर्वाचन गरौं भनेको हुँ । निर्वाचन भयो भने सबैभन्दा बढी मत ल्याएर जित्न सक्छु ।’
हुन त उनी दिउँसो पनि केपी ओली बसेको होटल पुगेर ओलीलाई भेट्न खोजेका थिए । लामो समय कुरेर पनि ओलीलाई भेट्न नपाएपछि निराश हुँदै बाहिरिएका उनले भनेका थिए, ‘केपी ओली हजुर’बालाई भेट्न सजिलो रहेनछ ।’
एक महिनाअघि एमाले प्रवेश गरेर झापाबाट प्रतिनिधि बनेर आएका प्रसाईं एमालेको केन्द्रीय सदस्य हुनसक्छु कि भन्ने प्रयासमा थिए ।
केन्द्रीय सदस्यमा नपरेपछि कतिपय प्रतिनिधिको बन्दसत्र हलमै रूवाबासी चल्यो । सिन्धुलीबाट प्रतिनिधि बनेर आएकी उमा कोइराला धुरुधुरु रोइन् ।
‘ईश्वर पोखरेललाई कुरा लगाएर मेरो नाम काट्न लगाए । एउटी महिलालाई रुवाएर तिमीहरूको भलो हुनेछैन,’ भन्दै उनी रोइरहेकी थिइन् ।
केहीबेर रूवाबासी चलेपछि ओलीले कोइरालाई भने, ‘तपाईंको कुरा सुनियो कमरेड । अब चुप लाग्नुहोस् ।’ तर, कोइराला रोकिइनन् । नजिकै बसेका प्रतिनिधि र स्वयंसेवकले उनलाई थामथुम पारे ।
ओलीले बन्दसत्रको हलमै बसेर केन्द्रीय सदस्यमा दोहोरिएका व्यक्तिको नाम हटाए । त्यसमा सुवास नेम्वाङ, ईश्वर पोखरेल, युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले ओलीलाई सघाए ।
उनीहरूले प्रतिनिधिको कुरा सुनेर ओलीलाई ब्रिफिङ गरे । कतिपय कुरा ओलीले ठाडै इन्कार गरे, कतिपय भने सुनेर सच्याए पनि । त्यही बेला ओलीले एमाले केन्द्रीय सदस्यको सूचीमा बालकृष्ण ढुङ्गेललाई समावेश गरेको घोषणा गरे ।
फ्लोरमा रहेका प्रतिनिधि भने ओलीको घोषणाले अचम्मित भए । ‘ढुङ्गेल के आधार केन्द्रीय सदस्य भए ?’, फ्लोरमा प्रतिनिधिले आपसमा कुरा गरे । तर, ओलीसमक्ष असन्तुष्टि लैजाने आँट कसैले गरेन ।
अध्यक्ष मण्डलकै सदस्य रहेकी गोमा देवकोटाको नाम पनि केन्द्रीय सदस्यमा आएन । उनले अध्यक्ष ओलीसँग गुनासो गरिन् । ओलीले सल्लाहकार परिषदमा समेट्ने भनिदिए । उनी नाजवाफ भएर फर्किइन् ।
राधा ज्ञवालीको पनि केन्द्रीय सदस्यमा नाम नआएपछि ओलीनजिक गइन् र भनिन्, ‘मैले तपाईंलाई निरन्तर सहयोग गरेबाापतको पुरस्कार पाएँ कमरेड ! केन्द्रीय सदस्यबाट मेरो नामै हटाइदिनुभयो ।’
ओलीले ज्ञवालीको कुरा सुनेकोनसुन्यै गरिदिए ।
करीब एक घण्टाको समय लगाएर ओलीले केन्द्रीय सदस्यको सूची सच्याए, अनि अन्तिम रूप दिए ।
ओलीले केन्द्रीय सदस्यको सूची सच्याइरहँदा सुवास नेम्वाङको गतिविधि भने हतासिएको जस्तो देखिन्थ्यो । अध्यक्ष मण्डलका सदस्यहरू लालबाबु पण्डित, छविलाल विश्वकर्मा, भीम रावल चुपचाप बसिरहे ।
रावललाई बन्दसत्रको दबाब
केन्द्रीय सदस्यको सूचीलाई अन्तिम रूप दिएपछि ओलीले १९ जना पदाधिकारीको सूची प्रस्तुत गर्ने तयारी गरे । सूची प्रस्तुत गर्नुअघि उनले रावललाई उपाध्यक्ष बसेर सहयोग गर्न आग्रह गरेका थिए ।
रावलले ओलीको प्रस्ताव इन्कार गरे । ओलीले फेरि अध्यक्षको हैसियतले उपाध्यक्षमा बस्न रावललाई निर्देशन दिए । रावलले उम्मेदवारी दिने जवाफ फर्काए ।
त्यसपछि, ओली माइकमा बोल्न थाले ।
उनले भने– ‘सहमतिको यो सूची पेश गर्नुभन्दा अगाडि एकताको सन्देशका निम्ति धेरै परामर्श, धेरै प्रयास गरिएको छ । मैले लिस्ट तयार गर्दा कतिपय साथीहरूमा असहमति, असन्तुष्टि हुनु स्वाभाविक कुरा हो । तर, त्यसलाई बाहिर प्रकट गर्नु वा लिएर जानु वाञ्छनीय हुँदैन । मैले त्यसैका निम्ति कमरेड भीम रावललाई रिपिटेड्ली उपाध्यक्ष बस्नुस् भनें । उहाँले उपाध्यक्ष नबस्ने, अध्यक्षमै लड्ने र धेरै अघि बढिसकेको भन्ने कुरा रिपिटेड्ली राख्नुभएको छ । र, अहिलेसम्म पनि हामी कसैले पनि सम्झाउन सकिएन । मैले अन्तिममा बाध्य भएर यो पनि भनें, म पार्टी अध्यक्षको हैसियतले तपाईंलाई उपाध्यक्षमा उम्मेदवारी हाल्न र उपाध्यक्ष भएर काम गर्न निर्देशन दिन्छु । उहाँले अझै पनि मानिरहनुभएको छैन । अब हामी सबैले, सिंगै हलले भीम रावलजीलाई सबैको अभिमतभन्दा पृथक गएर उम्मेदवारी नदिनका निम्ति आग्रह गरौं ।’
ओलीले यति भनेपछि अधिकांश प्रतिनिधिले ओलीको पक्षमा नाराबाजी गरेका थिए । कतिपयले भीम रावलको विपक्षमा नाराबाजी गरे ।
त्यसपछि ओलीले भने, ‘रावलजी आफ्नो प्रतिक्रिया राख्नुहोस् । तपाईं राम्ररी विचार गरेर भन्नुहोस् । म तपाईंको प्रक्रिया माइकमा सुन्न चाहन्छु ।’
ओलीको आदेशपछि रावल पोडियमतर्फ गए । हलले उनका विरुद्धमा नाराबाजी गर्यो । रावल नबोली एकोहोरो हलको तमासा हेरिरहे । ओलीले भने, ‘रावलजी अगाडि बढ्नुहोस् ।’ रावल अझै बोलेनन् ।
ओली फेरि बोले, ‘साथीहरू एकछिन चुप बसिदिनुहोस् ।’ हल केही शान्त भयो । बल्ल रावल बोल्न थाले ।
रावलले भने– ‘म यो पार्टीप्रति प्रतिबद्ध छु । यो पार्टीका लागि धेरै दिनहरू दृढतापूर्वक व्यतित गरेको छु । मलाई यसमा गौरव छ । जुन-जुन बेला यो पार्टी विभाजनको चरणमा प्रवेश गर्न खोज्यो त्यतिबेला जोगाउन खटेको छु । आगामी दिनमा यो देशको सशक्त नेतृत्व गर्न सक्ने, यो देशको स्वाधीनता, स्वतन्त्रता, नेपाली जनताको समृद्धि, कसैको अगाडि नझुक्ने नेपालीहरूको गौरवलाई यो पार्टीले बोक्न सकोस् भन्ने मेरो अभिलाषा छ ।
मैले त्यति उद्देश्यबाट आजसम्म काम गर्दै आएको हुँ । पार्टीमा कहिलेकाहीँ नचाहँदा नचाहँदै विभिन्न प्रकारका अन्तरविरोधहरू देखिए । ती अन्तरविरोध हाम्रा खुशीका क्षणहरू थिएनन् । म कसको जिम्मेवारी, कसको दोष भनेर छु्ट्याउन चाहन्नँ, किनभने हामी भव्य महाधिवेशनको थलोमा आइपुग्दा कुनै घाउ कोट्याउन उपस्थित भइरहेका छैनौं । त्यो मलाई थाहा छ । तर, मैले यसबीचमा अध्यक्ष कमरेडसँग के कुरा गरें, अरू कमरेडसँग के कुरा गरें त्यो पनि यहाँ उल्लेख गर्न चाहन्नँ । रात गएर बिहानी भइसकेको छ । कमरेडहरू सुत्न पाउनुभएको छैन । रातभरि नसुत्दाको असर कस्तो हुन्छ त्यो हामीले बुझेकै छौं ।
म अहिले बोल्न चाहेको पनि थिइनँ । अध्यक्ष मण्डलका अध्यक्ष कमरेडले निर्देशन दिएपछि बोल्न उभिन बाध्य भएको हुँ । मैले विनम्रतापूवर्क भन्नुपर्छ, मैले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेको छु । म यति अगाडि बढिसकेको छु कि मलाई फर्किन गाह्रो छ । माफ गर्नुहोला म अध्यक्ष पदमा उम्मेदवारी दिन्छु ।’
यति भनेर रावलले आफ्नो भनाइ टुंग्याए । हलमा फेरि होहल्ला भयो । रावलविरूद्ध आवाज उठ्यो । केही प्रतिनिधिहरूले भनेको सुनियो, ‘धेरै अघिबढिसकें भनेको के हो ? जवाफ चाहियो । कसका लागि अध्यक्षको उम्मेदवार बन्न लागेको ? एमालेको एकमात्रै अध्यक्ष केपी ओली हो । केपी ओली जिन्दावाद !’
रावलले आफ्नो भनाइ राखेपछि ओली पदाधिकारीको लिस्ट बनाउन थाले । त्यही बेला घनश्याम भुसाल स्टेजमा उक्लिए र ओलीलाई भने, ‘तपाईंले यो के गर्नु लाग्नुभएको ? पार्टीको विधान छ, त्यसअनुसार गर्नुहोस् । हामी उम्मेदवारी दिन्छौं । हामीले चुनावमा हार्ने अधिकार त प्रयोग गर्न पाउनुपर्यो नि !’ ओली केही बोलेनन् । भुसाल आफ्नो कुर्सीमा फर्किए ।
ओलीको हातमा रहेको कागजमा कसैको नाम थिएन । पद मात्रै उल्लेख गरेर ल्याइएको कागजमा ओलीले धमाधम पदाधिकारीको नाम लेखे । ओलीको पक्षमा र रावलको विपक्षमा नाराबाजी भइरह्यो ।
पदाधिकारीको सूची बनाइसकेपछि ओली बोल्न थाले–
‘हामीले सहमतिको धेरै प्रयास गर्यौं । हामी सबैले एक स्वरले आग्रह गर्दा पनि कमरेड भीम रावलले उम्मेदवार हुन्छु नै भनेपछि हामी उहाँको अधिकारलाई रोक्न सक्दैनौं । सहमतिमा आउनुभएको भए हुन्थ्यो, एकता देखाउनुभएको भए हुन्थ्यो । अध्यक्ष मण्डलको अध्यक्षका तर्फबाट सहमतिका लागि घोषणा गरिएका पदाधिकारीहरूको नाम सुनाउन चाहन्छु । अध्यक्षमा केपी शर्मा ओली ।’
अध्यक्षमा आफ्नो नाम प्रस्ताव गरेपछि ओलीले फेरि केही भनाई राखे, ‘मैले यी नामहरू अध्यक्ष मण्डलको तर्फबाट घोषणा गरिरहेको छु । हाम्रो यहाँ सल्लाह पनि भयो । सकेसम्म मिलाएर पदाधिकारीहरूको नाम तय गरेका छौं ।’
त्यसपछि उनले क्रमशः पदाधिकारीको नाम सुनाए । ओलीले वरिष्ठ उपाध्यक्ष र पाँच जना उपाध्यक्षको नाम सुनाए । त्यसपछि महासचिवमा शंकर पोखरेलको नाम घोषणा गरे । एकजना उपाध्यक्षको नाम छुट्यो । ओलीको देब्रेतिर अष्टलक्ष्मी शाक्यसँगै बसेका सुवास नेम्वाङ उठेर ओलीनजिकै गएर भने, ‘मेरो नाम त आएन नि कमरेड !’
अनि, ओलीले भने, ‘सुवासचन्द्र नेम्वाङको नाम उपाध्यक्षमै छुटेछ । उपाध्यक्षमा सुवासचन्द्र नेम्वाङसहित सातजना साथीहरू हुनुहुन्छ ।’ हाँस्दै ओलीले थपे, ‘आफैँ उठेर आएपछि अब छुट्ने कुरै भएन ।’
त्यसपछि ओलीले अरू पदाधिकारीहरूको नाम सुनाए ।
‘यी १९ जना पदाधिकारीको नाममा सहमति जनाउन म हललाई अनुरोध गर्न चाहन्छु । यो नाममा असन्तुष्ट हुनेहरूलाई मनोनयन दर्ता गर्न पनि अनुरोध गर्न चाहन्छु’, नाम सुनाइसकेपछि ओलीले भने, ‘यहाँहरू निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गर्न जान सक्नुहुन्छ ।’
केन्द्रीय सदस्य र पदाधिकारीको नामसहित आफ्नो प्यानल घोषणा गरेर ओलीले बन्दसत्र स्थगित गर्नै लाग्दा बिहानको साढे ३ बजेको थियो ।
ओलीले भने, ‘भोली बिहान नौ बजे फेरि यहीँ भेट्ने गरी...।’ ओलीको वाक्य नसकिँदै ईश्वर पोखरेलले भोलि होइन आजै हो भनेर सम्झाए र ओलीले फेरि भने, ‘ल ल आजै बिहान सही, आज बिहान अथवा केही समयपछि नौ बजे हामी फेरि यस ठाउँमा उपस्थिति हुनेछौं । त्यतिञ्जेलसम्मका लागि बन्दसत्र स्थगित हुन्छ ।’
१३ गते बिहान बन्दसत्र स्थगित भयो र नौ बजेबाट मनोनयन दर्ता शुरू गरियो ।
अर्को दिन १४ गते बिहानको ४ बजेबाट मतदान शुरू भएर १४ गते राति साढे ८ बजे निर्वाचित नेतृत्वले शपथ ग्रहण गरेपछि एमालेको दशौं राष्ट्रिय महाधिवेशन अध्यक्ष ओलीले समापन गरे ।
पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...
२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...
भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...
प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...
श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...
बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...
मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...