०१ असार २०८३, सोमबार

पुरुष राष्ट्रिय क्रिकेटमा २ नम्बर प्रदेशलाई हराउँदै कर्णाली प्रदेश विजयी

मंसिर १६, २०७८
पुरुष राष्ट्रिय क्रिकेटमा २ नम्बर प्रदेशलाई हराउँदै कर्णाली प्रदेश विजयी
प्रतिकात्मक तस्वीर

२ नम्बर प्रदेशलाई पराजित गर्दै कर्णाली प्रदेश १९ वर्षमुनि (यू–१९) पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी भएको छ ।

मूलपानी क्रिकेट मैदानमा बिहीवार भएको खेलमा कर्णालीले २ नम्बर प्रदेशलाई २ विकेटले पराजित गरेको हो । 

यसअघि लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको कर्णाली त्यसपछि लगातार ४ खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । २ नम्बर प्रदेशको पनि फाइनल खेल्ने सम्भावना समाप्त भएको छ ।

खेलमा ४६ रनको विजयी लक्ष्य पछ्याएको कर्णालीले १३ दशमलव ३ ओभरमा ८ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । कर्णालीको जीतमा प्रकाश जैसीले सर्वाधिक १६ रन जोडे । राज शाहले ६, विपीन रावलले ५ तथा रमेश बुढाले ३ रन बनाए ।

बलिङतर्फ २ नम्बर प्रदेशका राजेश यादवले सर्वाधिक ६ विकेट लिए । विवेक यादवले २ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको २ नम्बर प्रदेशले १३ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४५ रन बनायो । २ नम्बर प्रदेशका लागि सन्नी साहले सर्वाधिक १२ रन जोडे । सन्तोष कार्कीले ११ रन बनाए । ५ खेलाडी शून्यमै आउट भए ।

कर्णालीका प्रकाश जैसी एक्लैले ८ विकेट लिए भने अनुज चनाराले २ विकेट लिए । ७ प्रदेश सम्मिलित प्रतियोगिताका शीर्ष २ टोली उपाधिका लागि भिड्ने छन् ।

फाइनल खेल मंसिर १९ गते हुनेछ । लुम्बिनी ६ खेलमा ५ मा जीत र १ मा हारसहित १० अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको छ । सुदूरपश्चिम ५ खेलमध्ये ३ मा जित र २ मा हारसहित दोस्रो स्थानमा छ ।

लीगको अन्तिम खेलमा सुदूरपश्चिमले बागमती प्रदेशसँग कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शुक्रवार खेल्नेछ । बागमती प्रदेश ५ खेलमध्ये २ मा जीत र ३ मा हारसहित ४ अंकका साथ चौंथो स्थानमा छ ।
 

salt training

कमेन्ट गर्नुहोस्