
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनबाट पार्टीको नेतृत्व हत्याउन २ नेता प्यानल बनाएर निर्वाचनमा भिड्ने भएका छन् ।
बुधवारबाट काठमाडौंमा राप्रपाको एकता महाधिवेशन शुरू भएको छ ।
केही जिल्लाका प्रतिनिधिहरू टुंगो लगाउन नसक्दा नेतृत्व चयनका लागि मतदान भने टुंगो लाग्न सकेको छैन ।
वर्तमान अध्यक्ष कमल थापा महाधिवेशनबाट पुनः पार्टी नेतृत्वमा दोहोरिने तयारीमा छन् भने नेता राजेन्द्र लिङ्देन थापालाई कुनै पनि हालतमा पार्टी नेतृत्वबाट विस्थापित गर्ने योजनामा छन् ।
दुवै नेताले निर्वाचनमा भिड्नका लागि आ–आफ्नो प्यानल तयार गरेका छन् ।
अध्यक्षका आकांक्षी लिङ्देनले ४ उपाध्यक्ष र महामन्त्री पदका उम्मेदवार तयार गरेका छन् ।
राप्रपाले १ महिलासहित ४ उपाध्यक्ष र १ महिलासहित ३ महामन्त्री प्रतिनिधिको मतबाट निर्वाचित हुने व्यवस्था गरेको छ ।
लिङ्देनको प्यालनबाट उपाध्यक्षमा विक्रम पाण्डे, दिलविकास राजभण्डारी र रामचन्द्र राय चुनाव लड्ने निश्चित भएको छ । महिला उपाध्यक्षमा भने लीला श्रेष्ठ उम्मेदवार हुने भएकी छिन् ।
लिङ्देनको प्यालनबाट महामन्त्रीमा डा. धवलशमशेर राणा, श्याम तिमल्सिना र रेखा थापा चुनाव लड्ने भएकी छिन् ।
लिङ्देनले केन्द्रीय सदस्य उम्मेदवारको सूची भने तयार पारिसकेकी छैनन् ।
अध्यक्षमा दोहोरिने योजनामा रहेका कमल थापाको पनि प्यानल तयार भएको छ । थापाको नेतृत्वमा बनेको प्यानलमा पनि उपाध्यक्षमा विक्रम पाण्डेको नाम समावेश गरेका छन् । त्यसबाहेक उपाध्यक्षमा बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधानको नाम रहेको छ । थापा प्यानलबाट महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार बन्ने भएकी छन् ।
थापा प्यानलको महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाही उम्मेदवार बन्ने टुंगो लागेको बताइएको छ ।
राप्रपामा उपाध्यक्ष र महामन्त्री बाहेकको पदमा अध्यक्षले मनोनित गर्ने प्रावधान रहेको छ ।
राप्रपाले महाधिवेशनबाट १४९ जना केन्द्रीय सदस्य निर्वाचित गर्छ भने बाँकी ५० जना केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था छ ।